मेसीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

शनिबार, फागुन २०, २०७९

ब्युनस आइरिस– अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । 

मेसीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो सहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले  छाडेको लिखित सन्देशमा मेसीलाई आक्रमणको धम्की दिइएको हो । ब्ब्युनस आइरिसबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो सहर अवस्थित छ । 

मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा  ‘मेसी, हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन,’ भनिएको छ । 
 
रोजारियोका सहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषधसम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् । 

मेसीलाई धेरै अर्जेन्टिनीले महान फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । ३६ वर्षपछि उनको नेतृत्वमा अर्टेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ । मेसी हाल फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)बाट खेलिरहेका छन् ।  धेरै समय उनी विदेशमा नै बिताउँछन् । यद्यपि उनी रोजारियो पनि जाने गर्छन् । फ्युनेसको उपनगरमा उनको घर छ । फ्रान्सेली टोलीले बिहीबार बिहान मेसीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेसीका ससुरालीले पनि  यस प्रकारको धम्की  हिलोपटक पाएको बताएका छन् । 

सान्ता फे प्रान्तका न्यायमन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएकी छिन् । उनले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेखेकी छिन् ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी मियामी जाने निश्चित
शनिबार, फागुन २०, २०७९

मेसी साउदी जाने पक्का
शनिबार, फागुन २०, २०७९

मेसी २ साताका लागि निलम्बनमा 
शनिबार, फागुन २०, २०७९