कहिले सुध्रिन्छ यो तनावपूर्ण आर्थिक अवस्था ?

संकटको यही अवस्थामा पनि दुइटा सुखद खबर छन् 
शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– कोटेश्वरमा कपडा पसल गर्ने एक व्यापारीको अनुभवमा यसपालिको जाडोमा ज्याकेट, स्वीटर जस्ता बाक्ला कपडाको व्यापार खासै भएन । गत दशैमा ठूला साइजका कपडाको विक्री पनि निकै कम भयो ।

वानेश्वरमा क्याफे संचालन गर्ने व्यापारीहरुका अनुसार क्याफेमा आउने ग्राहकको संख्या निकै घटेको छ । आफूहरुको व्यापार अप्रत्यासित रुपमा किन घट्यो भन्ने उनले अनुमान लगाउनै सकेका छैनन् । 

कपडा लगाउनै पर्छ । भोक लागेपछि खाजा खाना खानै पर्छ । तर, यस्तै वस्तुको व्यापार पनि किन घटिरहेको छ ? 

काठमाडौँ उपत्यकाका बढी भिडभाड हुने बजारमा अचेल खासै भिड देखिदैन । सडकमा सवारी साधनको भिड देखिए पनि पैदलयात्रीको संख्या निकै कम भए जस्तो अनुभव हुन थालेको छ ।

प्रमुख व्यापारिक केन्द्र सुनसान देखिनुको पछाडि मुख्य दुई कारण छन् । पहिलो त काठमाडौँ महानगरले फुटपाथमा व्यापार गर्न दिएको छैन । पार्किङ हटाएको छ । यसको असर खाजा पसल, तथा सानातिना सटर व्यापारमा परेको छ । 

फुटपाथ तथा ठेला व्यापार बन्द भएपछि त्यस्तो व्यापार व्यवसाय गर्नेहरु काठमाडौँ उपत्यका छोडेर अन्यत्र गएका छन् । यसले गर्दा उपभोग नै कम भएर व्यापार घटेको तथा बजार क्षेत्र सुनसान जस्तो देखिएको व्यापारीको अनुभव छ । 

तर, समस्य फुटपाथमा वा सडक छेउका सटरमा मात्रै सिमित छैन । माग कम भएको कारण फलामे डण्डी उत्पादन गर्ने उद्योगले अहिले उत्पादन क्षमताको करिब ५० प्रतिशत मात्रै उत्पादन गरेको उद्योगीहरु बताउँछन् । घरजग्गा कारोबार करिब ठप्प छ । कार, जीप, भ्यानको विक्री पनि घटेको छ । सेयर बजारमा उस्तै निरासा देखिन्छ । करिब ३३ सयको विन्दुमा पुगेको नेप्से परिसुचक अहिले २ हजार भन्दा तलको विन्दुमा झरेको छ ।

अबको केही समयपछि ठूला उद्योगहरु बन्द भएका, कर्जाको किस्ता तिर्न नसकेको कारण बैंक खाता रोक्का भएका जस्ता विषयहरु सार्वजनिक भए पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन ।

अहिले आफूहरु सबैभन्दा ठूलो तनावमा रहेको वित्तीय क्षेत्रका अधिकारीहरु बताउँछन् । कर्जाको किस्ता नउठ्ने र धितो लिलामी गरेर उठाउँन खोज्दा पनि विक्री नहुने समस्या रहेको बैंकर्स बताउँछन् ।

‘रिकभरी डिपार्टमेन्टको ठूलै पदमा रहेका एक जना मेरा मित्र अहिले डिप्रेसनमा गएका रहेछन्, मैले बेलैमा जागिर छोडेर ठिक गरेछु,’ केही समयअघि एक बैंकको शाखा म्यानेरबाट बाहिरिएका मिन अधिकारी भन्छन् ।

यी केही उदाहरणले नेपाली अर्थतन्त्र गम्भीर समस्यामा परेको संकेत गर्छ ? के नेपाल पनि श्रीलंका वा पाकिस्तान जस्तो आर्थिक टाट पल्टिने दिशातिर गएको हो ?

‘गत पुस मसान्तको तथ्यांक हेर्दा नेपालसँग १० अर्ब ३० करोड अमेरिकी डलर छ, यति डलरले ९ महिनाको लागि वस्तु तथा सेवा खरिद गर्न पुग्छ, अर्थात अब १ डलर पनि थपिएन भने पनि अबको ९ महिनाको लागि वस्तु तथा सेवा खरिद गर्न सक्ने अवस्थामा हामी छौं, त्यसैले श्रीलंका वा पाकिस्तान जस्तो हुने हो कि भनेर चिन्ता गर्नु पर्दैन,’ नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख समेत रहेका अर्थशास्त्री डा. प्रकाश श्रेष्ठ भन्छन् ।

त्यसो भए बजारमा देखिएको आर्थिक मन्दीको अवस्था के हो ? सरकारी तथ्यांकले ठिकै देखाउँदा बजारमा किन यस्तो तनाव ? व्यवसायीहरु किन आत्महत्या गर्नेसम्मको अवस्थामा पुगिरहेका छन् ?

किनभने आर्थिक अवस्था ठिकै छ, हामी श्रीलंका वा पाकिस्तान हुँदैनौं भनेर देखाउने तथ्यांक देशको शोधनान्तर स्थिति कस्तो छ, कति डलर संचिति छ भन्नेले हो । यी तथ्यांकको विश्लेषण गरेर अर्थशास्त्रीहरुले देशको आर्थिक अवस्थामा ‘वाह्य क्षेत्र’को स्थितिका बारेमा बताउँछन् । अर्थात अहिले नेपालको वाह्य क्षेत्र राम्रो अवस्थामा छ । डलर नभएर विदेशबाट वस्तु तथा सेवा खरिद गर्न नसकिने हो कि भन्ने चिन्तामा बस्नु पर्ने अवस्था छैन । 

तर, वाह्य क्षेत्रको यो अवस्था त्यति सजिलै आएको होइन । करिब १४ महिनासम्मको प्रयासपछि शोधनान्तर अवस्था धनात्मक भएको हो । यसबीचमा नेपाल राष्ट्र बैंकले आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो भने सरकारले विलासी वस्तुको आयात रोक्यो । यसैकारण वाह्य क्षेत्र सुध्रिएको थियो ।

अबको चुनौति भनेको आन्तरिक क्षेत्र हो । आन्तरिक क्षेत्रमा देखिएको चुनौति बढ्दै जादा ठूला उद्योगी व्यवसाय मात्रै होइन, साना व्यापार तथा आम सर्वसाधारणले बढो सकस महसुस गर्न थालेका छन् । लक्ष्य अनुसार राजस्व असुली नहुँदा सरकार नै समस्यामा पर्न सक्ने अवस्था छ । राजस्वले सरकारी कर्मचारीलाई तलब खुवाउन नपुगेर विदेशीसँग ऋण माग्नु पर्ने त होइन भन्ने जस्तो अवस्था देखिएको छ ।

अर्थतन्त्रको जग नै घरजग्गा 

यसपालिको संकटले दुईटा कुरा स्पष्ट पारिदिएको छ । नेपालको राजस्वको मुख्य स्रोत नै आयात हो भन्ने तथ्य फेरि प्रमाणित भएको छ भने नेपाली अर्थतन्त्रको जग नै घर जग्गा व्यवसाय हो भन्ने पनि पुष्टी भएको छ ।

‘जग्गा किन्यो, फाइदा गरेर बेच्न सकिन्थ्यो, फाइदाको पैसाले गाडी किनिन्थ्यो, रेष्टुरेन्टमा गएर रमाइलो गरिन्थ्यो, टिभी, फ्रिज, लत्ता कपडा किन्ने काम हुन्थ्यो, जग्गा बेचेर सेयरमा र सेयर बेचेर जग्गामा हाल्ने गरिन्थ्यो, अहिले जग्गा विक्री हुँदैन, सेयरको मूल्य कौडीको भाउमा आएको छ, त्यसैले समस्या भएको हो,’ एक घरजग्गा व्यवसायी भन्छन् ।

यसअघिका ठूला आर्थिक संकटको कारक घरजग्गा व्यवसाय नै भएको इतिहास साक्षी छ । सन् २००९ तिरको आर्थिक मन्दीको कारक घरजग्गा व्यवसायमा आएको संकट नै थियो भने एसियन संकटको कारक पनि घरजग्गा व्यवसाय नै थियो ।

नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरु राम्र्रै नाफामा थिए । यसको कारण पनि घरजग्गा व्यवसाय नै थियो । बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा धितो राखेर ऋण दिने गरेका छन् । ऋणीले ऋण तिर्न सके बैंक तथा वित्तीय संस्थाहरुलाई फाइदा हुने नै भयो । सकेनन् भने पनि धितो लिलामी गरेर ऋण उठ्थ्यो । किनभने घरजग्गाको मूल्य जहिल्यै बढेको हुन्थ्यो र विक्री पनि हुन्थ्यो । 

तर यसपालि घरजग्गा कारोबार ठप्प छ । मूल्य खासै नघटेपनि उच्च विन्दुमा गएर रोकिएकोले तत्काल खरिद विक्री हुन सक्ने सम्भावना पनि देखिदैन । 

कस्तो छ अहिले देशको आर्थिक अवस्था ?

राष्ट्र बैंक र सरकारले आयातमा कडाइ गरेर वाह्य क्षेत्रलाई राम्रो अवस्थामा ल्याएका थिए । बाह्य क्षेत्रमा कडाई गरेर सुधार गर्दा आन्तरिक क्षेत्र विग्रियो । राजस्व असुलीमा गम्भीर धक्का लाग्ने र डलरको संचिति बढेको देखिएपछि सरकारले प्रतिवन्ध गरेका वस्तुको आयात खुल्ला गरिदियो । र, राष्ट्र बैंकले आयातमा राख्नुपर्ने नगद मार्जिनको व्यवस्था पनि हटाउँदै लग्यो ।

तर, फागुन लागेपछि राष्ट्र बैंकको टाउको दुख्न थालेको छ । अहिले दैनिक ५ अर्ब रुपैयाँ बराबरको आयात हुन थालेको छ । यही गति कायम रहे फागुन महिनामा १ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा आयात हुने अनुमान राष्ट्र बैंकले गरेको छ । जवकि माघ महिनामा १ खर्ब ३६ अर्ब रुपैयाँको हाराहारीमा आयात भएको थियो ।

‘हामीले आयातलाई बढीमा मासिक १३० अर्बको हाराहारीमा कायम राख्नुपर्छ, होइन भने जति रकम बराबरको आयात हुन्छ, त्यति रकम बराबरको विदेशी मुद्रा ल्याउनु पर्छ, नत्र बाह्य क्षेत्र फेरि धर्मराउन पुग्छ,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन् ।

बैंकिङ क्षेत्रबाट निजी क्षेत्रतर्फ जाने कर्जा प्रवाह खासै बढेको छैन । गत पुस मसान्तसम्मको तथ्यांकले ३ प्रतिशत मात्रै कर्जा बढेको देखाउँछ । जवकि गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ प्रतिशतले कर्जा बढेको थियो ।

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पनि खासै बढेको छैन । राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार अहिले बैंकिङ क्षेत्रमा ५ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता छ । अर्थात बैंकिङ क्षेत्रले ५ अर्ब रुपैयाँ ऋण दिन सक्छ । 

तर, यो अधिक तरलताको स्रोत पनि राष्ट्र बैंक नै हो । अघिल्लो साता नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको हाराहारीमा रिपो जारी गर्यो । अर्थात बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर बढाबढमा ५० अर्ब रुपैयाँ दियो । त्यसपछि ८ प्रतिशतको हाराहारीमा रहेको अन्तरबैंक व्याजदर घटेर ४ प्रतिशतको हाराहारीमा आयो । 

राष्ट्र बैंकले जारी गरेको ५० अर्ब रुपैयाँ रिपोको अवधि पूरा भएपछि बजारमा तरलताको अभाव फेरि बढ्यो । र, अन्तरबैंक व्याजदर ७ प्रतिशतको हाराहारीमा रह्यो । राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँको रिपो जारी गरेको छ भने अन्तरबैंक व्याजदर ७ प्रतिशतकै हाराहारीमा छ ।

कहिले सुध्रिन्छ ?

यो प्रश्नको जवाफ त्यति सजिलो छैन । सरकारी अधिकारीहरु पनि सहज रुपमा यसको जवाफ दिन सकिरहेका छैनन् ।

‘रेमिटान्स आप्रवाह बढ्दै गयो, दातृ निकायले नेपाललाई दिन्छु भनेको रकम दिए, पर्यटनक आगमन बढ्यो भने अलि छिटै सुध्रिन्छ, होइन भने अलि समय लाग्ला जस्तो छ किनभने वाह्य क्षेत्र सुधार्न हामीलाई १४ महिना लागेको थियो,’ अर्थशास्त्री डा. श्रेष्ठ भन्छन् ।

संकटको यही अवस्थामा पनि दुइटा सुखद खबर छन् । त्यसमध्येको एउटा के हो भने आगामी वैंशाखदेखि व्याजदर घट्न सक्छ । किनभने वैशाखदेखि बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको आधारदरका आधारमा कर्जाको व्याजदर पुनरावलोकन गर्न पाउँछन् । निक्षेपको व्याजदर केही कम भएकोले बैंकहरुको आधार दर घटेको छ । यसैकारण वैशाखदेखि कर्जाको व्याजदर अहिलेको व्याजदरको १० प्रतिशतले कम हुने देखिन्छ ।

अर्काे सुखद खबर के हो भने अन्तराष्ट्रिय मुद्राकोषले नेपाललाई दिने भनेको एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ) अन्तरगतको दोस्रो किस्ता दिने भएको छ । यसका लागि सम्झौता नै भइसकेको छ ।

इसिएफको दोस्रो किस्तामा ३९.२ मिलियन एसडीआर दिनेछ । यो भनेको ५० करोड अमेरिकी डलरभन्दा बढी रकम हो । यो रकम नेपाल आएपछि बैंकिङ क्षेत्रमा तरलता बढ्नेछ । तरलता बढेपछि व्याजदर घटेर तनावमा रहेको आर्थिक क्षेत्रमा राहत पुग्नेछ । 

अहिले आर्थिक क्षेत्रले आन्तरिक कारणले जे जस्तो समस्या भोगिरहेको छ, यसबाट सहज अवस्था सिर्जना हुन छिटोमा आगामी असार मसान्तसम्म कुुनुपर्ने अर्थशास्त्रीहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्