एमाले–राप्रपा नेताहरुबीच भेटघाट, राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेकपा (एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् ।

आज पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा पुगेका नेम्वाङले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका छन् ।

नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित त्यहाँ पुगेका थिए ।

भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङदेनसहित नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो ।

भेटघाटपछि राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए । 

‘उहाँहरुसँग सौहार्दपूर्ण तरिकाले कुराकानी भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले के गर्ने भन्ने कुरा चाहीँ २४ गते केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्छ । त्यसले गरेको निर्णय अन्तिम हुन्छ’, लोहनीले भने ।

भेटघाटपछि एमालेकी सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपाको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गरिन् ।

राप्रपा नेताहरुले उम्मेदवार स्वयं आफूहरुको कार्यालयसम्म आएर मत मागेको प्रति खुशी व्यक्त गरेका सांसद भट्टराईले उल्लेख गरिन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्