यूएईलाई हराउँदै नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै नेपाली यू–१९ टोली विश्वकप क्रिकेटमा छनोट भएको छ। 

युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन जाेड्दै  युएईलाई १९२ रनको सामान्य लक्ष्य दिएको थियाे । 

उक्त लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भएपछि नेपाली यू–१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपाल ८ वर्षपछि पहिलोपटक यू–१९ विश्वकप क्रिकेट छनोट भएको हो ।

यसअघि सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डर्कवर्थ लेविसको मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो । 

खेलमा नेपालका हेमन्त धामी, दिपेश कँडेल र सुवास भण्डारीले समान २ विकेट लिन सफल भए । चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासे भने देव ५१ रन बनाउँदा क्याच आउट भए । ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हान्न सफल भए । 

त्यसैगरी, उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के भने विशाल विक्रम केसीले ३८ रन थप्न सफल भए ।  विशालले ५० बलमा ५ चौका हाने भने  मिलन बोहोरा १० रनमा रन आउट भए । हेमन्त धामी १३ रनमा क्याच आउट भए । दिपक बोहोरा शून्य र अर्जुन कुमाल ३ रनमा आउट भए । आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए।

युएईका धुव परासरले ३ विकेट लिए भने आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए । अर्सित सेट र अम्मर बदामीले एक एक विकेट  लिए।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्