रामचन्द्रजीले अब गुनासो गर्ने ठाउँ रहेन : देउवा

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूप्रति राखिरहने गुनासो सकिएको बताएका छन् । 

सभपति देउवाले पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको पनि बताएका छन् ।

काठमाडौंमा बिहीबार भएको ८ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने, ‘ रामचन्द्रजीलाई मैले कुनै भूमिका भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौं ।

देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिले देखिको मेरो साथी हो ।’

देउवाले भने, ‘शेरबहादुरले कहिले सहयोग गरेन भनेर गुनासो आइरहन्थ्यो । तर अब त्यो समस्या छैन भन्ने लाग्छ मलाई ।’

उनले पौडेलको प्रशंसा गर्दै जिन्दगीभर संघर्ष गरेको भन्दै पटक पटक प्रशंसा गरे । 

उनले पौडेलले सधैँ कुनै पनि हालतमा नेपाल खत्तम नहोस्, प्रजातन्त्रमा विश्वास बढ्दै जाओस् भनिरहेको जिकिर गरे ।

‘राष्ट्रपतिको काम नै प्रजातन्त्रप्रति जनविश्वास बढाइरहने हो’, उनले भने, ‘अब उहाँले शेरबहादुरले कहिल्यै सहयोग गरेन भन्नु हुने छैन । उहाँ र म प्रतिस्पर्धी पनि हौँ । अब उहाँको गुनासो पनि रहने छैन ।’

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्