२ महिने सत्ता यात्रामा एमालेले के पायो, के गुमायो ?

बुधबार, फागुन १७, २०७९

काठमाडौं– पुस १० मा एमाले र माओवादी केन्द्रले सहकार्यको सहमति गरेका थिएनन् भने एमाले सुरूदेखि नै प्रतिपक्ष बेन्चमा रहन्थ्यो । 

मंसिर ४ मा भएको निर्वाचनमा एमालेले ७८ सिट जितेर प्रतिनिधिसभाको दोस्रो ठूलो दल बनेको थियो । तर, गत पुस १० मा एमालेका लागि आकस्मिक राजनीतिक लाभ प्राप्त भयो ।

तत्कालिन चुनावी गठबन्धनमा प्रधानमन्त्री नपाउने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुत्तिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे । 

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्ने भए । 

प्रतिपक्षको बेन्चमा रहने मनस्थितिमा रहेको एमाले एकाएक सत्तापक्ष बन्ने अवस्था बन्यो । 

ओली निवासमा करीब ४ घण्टाको बसाईपछि प्रधानमन्त्री र सभामुख एमाले र माओवादी केन्द्रले आधाआधा कार्यकाल बाँड्ने सहमति जुट्यो । राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादी केन्द्रले पाउने गरी सहमति बनेको नेताहरुले त्यस दिन बताएका थिए । 

पुस १० मा जुटेको एमाले र माओवादी केन्द्रको सहकार्य फागुन १२ मा टुट्यो । तर, यो २ महिनाको अवधिमा एमालेले राम्रै राजनीतिक फाइदा लियो ।  

केन्द्र र प्रदेशको कुनै पनि राजनीतिक पद नपाउने अवस्थाको एमालेले प्रतिनिधिसभाको सभामुख पाएको छ । एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भएका छन् । 

पुस १० मा एमाले र माओवादीले सभामुख आधा–आधा कार्यकाल बाँड्ने सहमति गरेका थिए । तर, त्यो सहमति भत्किएपछि एमालेले पूरा कार्यकाल सभामुख चलाउन पाउने अवस्था बनेको छ । 

एमालेकाविरूद्धमा ८ दलीय गठबन्धन बनेको भए पनि सभामुख हटाउन पुग्ने दुई तिहाइ मत उनीहरुको पक्षमा छैन । सभामुखलाई हटाउन संसदमा दुई तिहाई मत पुर्‍याउनुपर्ने हुन्छ । संसदको अहिलेको अंक गणित हेर्दा त्यो असम्भव जस्तै देखिन्छ । 

मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार बन्ने भनेर राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए । 

एमाले र माओवादीको सहकार्य थिएन भने राष्ट्रियसभको एक सीट एमालेले गुमाएको थियो । तर, माघ २५ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट एमालेले माओवादी केन्द्रकै सहयोगमा राष्ट्रियसभाको उक्त सिट कायम गरेको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसांैदी निर्वाचित भएका छन् ।

त्यतिमात्रै होइन, एमालेबाट प्रदेश–१ मा उपसभामुख उर्मिला दुनुवार, मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डल, बागमतीमा उपसभामुख अप्सरा चापागाइँ, गण्डकीमा उपसभामुख बिनाकुमारी श्रेष्ठ, कर्णालीमा सभामुख नन्दा गुरुङ र सुदूरपश्चिमका उपसभामुख कोइलीदेवी चौधरी निर्वाचित भएका छन् । 

प्रदेश–१, बागमती र गण्डकीमा एमालेबाट निर्वाचित भएकाहरुलाई पदमुक्त गर्न पुग्ने संख्या अहिले नयाँ बनेको ८ दलीय गठबन्धनसँग छैन । अर्थात, ३ वटा प्रदेशमा एमालेबाट निर्वाचित भएकाहरु ५ वर्ष नै ती पदमा रहनेछन् ।

उनीहरुलाई पदबाट हटाउन नयाँ ८ दलीय गठबन्धनलाई हम्मेहम्मे नै पर्ने देखिन्छ । 

यी सबै उपलब्धी एमालेले दुई महिने सत्ता यात्राको क्रममा हासिल गरेको हो । एमाले अहिले प्रतिपक्ष बेन्चमा पुगेको छ । प्रतिपक्ष दल भनेको गभर्मेन्ट इन वेटिङ पनि हो । अर्थात जुनसुकै बेला सत्तामा आउने सम्भावना रहन्छ । त्याे अवसर एमालेका लागि उपलब्ध छ । 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्