‘सञ्चारमाध्यमसम्बन्धी विधेयक अघि बढाउन तयार छु’

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयक अघि बढाउन आफू तयार रहेको बताएका छन् । 

बुधबार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले इन्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हकअधिकार र व्यावसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयक अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको बताए ।

उनले रोकिएका विधेयकहरूमा सञ्चारमाध्यमहरूसँग बसेर छलफल गर्न र संसद्मा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताए ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले खोजमूलक र जनतामुखी समाचार सम्प्रेषण प्रसारण गर्नुपर्ने बताउँदै अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण उल्लेख गरे । 

समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाई राज्य सञ्चालनका अंगहरू व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको उनको भनाइ थियो । 

इन्जाले इन्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इन्जा खोजी पत्रकारिता पुरस्कार, २०७९ बाट मातृका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ ।

त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार, २०७९ मा इन्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्