स्पोर्टस अवार्डका ४ विधाका खेलाडी मनोनयन

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक एवं खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्डअन्तर्गत विभिन्न ४ विधाको मनोनयन सार्वजनिक भएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने उक्त अवार्डअन्तर्गत वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडी, वर्षको सर्वश्रेष्ठ महिला खेलाडी, वर्षकोे सर्वश्रेष्ठ युवा खेलाडी र वर्षको सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो । 

वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेको मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

त्यसैगरी महिलातर्फ क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पूनम रावल र एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् । 

युवा खेलाडीको मनोनयनमा फुटबलका मनिष डाँगी र प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रसिला महर्जन छन् ।

प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अल्मुताइरी, क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् ।

यही फागुन २३ गते हुने १९औँ संस्करणको उक्त अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ । 

पल्सर स्पोर्टस अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड भने कार्यक्रमकै दिन घोषणा गरिने आयोजक मञ्चका कार्यवाहक अध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।

अवार्डमा वर्ष पुरुष, महिला, पिपुल्स च्वाइस, युवा र वर्ष प्रशिक्षकको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधा विजेता खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्