निर्माण सुरु भएको ४ वर्षपछि बल्ल पिच सुरु

मंगलबार, फागुन १६, २०७९

कैलाली– निर्माण सुरु भएको ४ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी खुसी भएका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको ४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीय खुसी भएका हुन् । 

स्थानीय व्यापारी हिक्मत विश्वकर्माले सडक कालोपत्र हुन थालेपछि धुलो र हिलोको सास्ती कम हुने विश्वास व्यक्त गरे । ‘भएको कालोपत्र सडक पनि उखेलेर फालेको अवस्था थियो । सडकको काम अस्तव्यस्त हुँदा सास्ती त्यस्तै थियो भने धुलो र हिलोको समस्या उस्तै’, उनले भने, ‘सडक कालोपत्र हुन थालेपछि आवतजावत सहज हुने आशा छ । सडक राम्रो र टिकाउ बनोस् भन्ने अपेक्षा छ ।’

मुख्य बजार क्षेत्रमा निर्माण सुरु भएको काम बीचमै अलपत्र पर्दा सबैभन्दा बढी सास्ती व्यापारीहरूलाई भएको थियो । लामो समयदेखि अन्योलमा रहेको आयोजनाको कामले गति लिएपछि आशा जागेको स्थानीय राजेन्द्र विष्टले बताए । 

उनले सडक निर्माणको काम सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै काम गुणस्तरीय हुनेमा भने शंका गरे । 

सडक निर्माणको काम निकै कमसल भएको स्थानीयले पटकपटक गुनासो गर्दै आएका छन् । निर्माण भएका नाली सबैभन्दा गुणस्तरहीन भएको स्थानीय प्रकाश शाहले बताए 

उनले निर्माण सम्पन्न भएका कैयौँ ठाउँमा नाली भत्किएको बताउँदै अन्य संरचनामा पनि प्रश्न गर्ने ठाउँ निर्माण कम्पनीले राखेको बताए । 

निर्माण सम्पन्न भएको केही महिनामै सडक पुनः निर्माण गर्नुपर्ने स्थितिमा पुग्ने हो भने हर्ष मान्नुपर्ने कारण नभएको उनको भनाइ छ ।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीको निगरानीमा निर्माण भइरहेको ब्लक एअन्तर्गतको काम असार मसान्तसम्म सम्पन्न गर्ने योजना निर्माण कम्पनीको छ ।

महालक्ष्मी एमके जेभीले निर्माणको जिम्मा पाएको आयोजनाको चौथोपटक म्याद थप भएको छ । 

निर्माण कम्पनीका सुपरभाइजर जयराम थापाले असार मसान्तसम्म काम सम्पन्न हुने जानकारी दिए । ‘सडकको बेसको काम सबै सकिएको छ । अब कालोपत्रको काम वैशाखभित्र सक्छौँ,’ सुपरभाइजर थापाले भने, ‘बाँकी फुटफाट र टुक्राटुक्राको काम बाँकी हुन्छ, त्यो पनि समयमै सम्पन्न गर्छौं ।” 

आयोजनाले बाहिरी चक्रपथ ६ लेन र ४ लेनको १ किलोमिटर, बाँकी २ किलोमिटर २०० मिटर भित्री सडक कालोपत्र गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्