कर्णालीमा २८ प्रतिशत जमिन बाँझै

मंगलबार, फागुन १६, २०७९

सुर्खेत– कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्यांक छ । सरकारले बाँझो जमिन सदुपयोग गर्ने नीति लिए पनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो । 

कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्छ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकमा छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन् ।

२ लाख ९९ हजार ३३९ हेक्टर खेतीयोग्य जमिनमा ३ लाख ३९ हजार ९०९ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । जबकि कर्णालीमा वार्षिक ३ लाख ५८ हजार ३१६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ ।

बाँझो जमिन उपयोग गर्न सरकारले फलफूल, तरकारी खेतीलगायतमा जोड दिएको प्रवक्ता कठायतले बताए । उनले भने, ‘हामीले बाँझो जमिन सदुपयोग गर्न विभिन्न योजना बनाएर काम गरिरहेका छौँ । हिमाली जिल्लामा स्याउ, ओखर खेती र पहाडी जिल्लामा सुन्तला, किबी र विभिन्न जातका फलफूल खेतीका लागि किसानलाई प्रोत्साहित गरिरहेका छाँै ।’ 

गरिबी न्यूनीकरण र खाद्यान्न अभाव कम गर्न बाँझो रहेको जग्गा सदुपयोग गर्दै आएको प्रदेश सरकराले जनाएको छ ।

खेतीयोग्य जमिन बाँझो राखेर खाद्यान्न उत्पादन बढाउन नसकिने भन्दै त्यसका लागि किसान आकर्षण कार्यक्रम सरकारले ल्याएको उनको भनाइ छ । तर, बर्सेनि खेतीयोग्य जमिन समेत बाँझिदै गएको छ भने खाद्यान्न अभाव पनि चुलिँदै गएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्