आइडिया स्टुडियोको उद्यमीका उत्पादन कार्यक्रम

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ –आइडिया स्टुडियो नेपालले छैटौँ  सिजनका उद्यमीका उत्पादन ‘प्रोडक्ट लन्च’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उचिता महर्जनको ‘उचित जैविक उद्योग’, कमला लामाको ‘ज्याम्बाला कृषि फार्म’, आनन्दकुमार र सुलोचना श्रेष्ठको ‘टमाटो प्युरी’ र सुस्मा राना र अशोकप्रसाद चौधरीको ‘अविराम एग्रोटेक’ का उत्पादन लन्च गरिएको हो ।

उचित जैविक उद्योग कम्पनीले राइस ब्रान्ड, तोरीको पिना, बोन मिल आदिको प्रयोग गरेर उत्पादन नघटाउने किसिमको जैविक मल बनाइरहेको छ । रासायनिक मलको विस्थापन गर्नु उचित जैविक उद्योगको सोच छ ।

२०७५ सालमा दर्ता गरी २०७९ सम्म आइपुग्दा दैनिक २० देखि २५ जनाले रोजगारी पाएको र दैनिक २० हजारदेखि ५० हजारसम्मको कारोबार गर्दै आएको छ ।

किसानले उत्पादन गरेको टमाटर बजारमा खपत नभएर फ्याँक्नुपर्ने र केही समय पछि बजारमा टमाटरको भाउ आकाशिने समस्या समाधान गर्न ‘एग्रो आर्मी प्रालि सेभ फुड’ सुरु गरिएको हो । उनीहरूले टमाटरको प्युरी बनाएर बोतलमा प्याक गरेर पार्टी प्यालेस, होटेल तथा रेस्टुराँमा बिक्री तथा वितरण गर्दै आएका छन् ।

‘अविराम एग्रोटेक’ले अण्डाबाट चल्ला कोरल्ने मेसिन बेच्दै आएको छ । वातावरणमैत्री, सरल र सहजै चलाउन सकिने, कम लगानीमै किसानको घरदैलोमा पुराउन सफल भएको उनीहरूको भनाइ छ । यो मेसिनबाट खेर जाने तरकारी, फलफूल वा मासुजन्य उत्पादन सुकाएर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

आइडिया स्टुडियो नेपालले ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाएको छ । आइडिया स्टुडियो नेपालबाट छनोट भएका व्यवसायलाई विशेष प्राथमिकता दिँदै उत्कृष्ट बनाउन सरसल्लाह‚ तालिम‚ व्यावसायिक सञ्जाल, मेन्टरशिपका साथसाथै वित्तीय पहुँचका लागि सहजीकरण गर्ने गरेको छ ।

कार्यक्रममा ग्लोबल कलेज अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)का कुलिनरी निर्देशक मायाङ्क गर्ग, फुड एन्ड बेभेरेजका विभागीय प्रमुख ताराजंग थापा, एकेडेमी अफ कुलिनरी आर्टका इन्फर्मेसन टेक्नोलोजी निर्देशक कृष्णराम महर्जन र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाको आतिथ्यमा सम्पन्न गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्