राष्ट्रपति निर्वाचन :

पौडेललाई मत दिन ओलीलाई देउवाको आग्रह, पत्र पठाएरै मागे भोट

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

देउवाले पौडेलका लागि ओलीसँग भोट मागेको पत्र कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार बालकोट पुगेर बुझाएका थिए ।

पत्रमा देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेल सालिन, बौद्धिक र सु–संस्कृत छविका व्यक्तित्व भएको दाबी गर्दै मतदानका लागि आग्रह गरेका छन् ।

‘रामचन्द्र पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरूभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ,’ उनले भनेका छन् । 

देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पौडेल निर्विवाद अभिभावकत्व निभाउन सुयोग्य साबित हुने दाबीसमेत गरेका छन् । 

‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व हो। यो दायित्व तपाईँ–हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु,’ उनले भनेका छन् ।

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । जसमा ८ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । 

यता, एमाले अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङलाई विजयी गराउन आग्रह गरेका थिए । उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई समेत पत्र पठाएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्