राष्ट्रपतिमा आधा–आधा कार्यकाल हुने ओलीको प्रस्ताव अस्वीकार गरे : अध्यक्ष नेपाल

सोमबार, फागुन १५, २०७९

कर्णाली– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । 

एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो । 

‘नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ’, उनले भने, ‘यसमा माओवादी केन्द्र त छँदैछ ।’ जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए । 

आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताउनुभएका उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए ।

उक्त सन्दर्भमा उनी विसं २०७५ गठन भएको नेकपा ब्युताउनुपर्ने कुरा आफूले राख्दै आएको स्पष्ट पारे ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्