‘सामाजिक संवादबाट श्रम सम्बन्ध सुधार गर्नुपर्ने’ 

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष रामचन्द्र संघईले श्रम सम्बन्ध सुधारका लागि सामाजिक संवाद निकै महत्त्वपूर्ण हुने बताएका छन् ।

महासङ्घ रोजगारदाता परिषद्को बैठक तथा अन्तरक्रिया कार्यक्रममा उनले श्रमसम्बन्धी कुनै पनि विवादको शान्तिपूर्ण र वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा जोड दिँदै समस्या समाधानको भरपर्दो तथा उपयुक्त विधि यही नै भएको उल्लेख गरे ।

महासङ्घ रोजगार परिषद्को सभापति समेत रहेका संघईले ट्रेड युनियन र सरकारसँग निरन्तर सम्पर्कमा रही बन्द हडतालमा जाने स्थितिको अन्त्य गरिएको समेत उल्लेख गरे । प्रतिष्ठानस्तरमा स–साना कुरालाई लिएर विवाद सिर्जना गर्ने, अचानक गैरकानूनी रूपमा काम बन्द गर्ने, जबरजस्ती गर्ने प्रवृत्ति अझै पनि कायमै रहेको उनको भनाइ थियो । 

आन्तरिक एवं बाह्य दुवै कारणले श्रम सम्बन्धमा नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले सामाजिक दायित्व वहन गर्दै व्यवसायलाई निरन्तरता दिनु पर्ने बाध्यतामा उद्योगी व्यवसायी रहेको बताए । उनले श्रम र उद्योगसम्बन्धी नीति निर्धारण गर्दा श्रम सम्बन्ध सुधार एवं श्रम विवाद न्यूनीकरणमा सघाउ पुग्ने तर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्