प्रचण्डलाई ओलीका ३ संज्ञा : दूधभातमा पल्केको बिरालो, झरेको पात र शरीरको पिलो

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रलोभनमा परेर अर्को गठबन्धनमा सामेल भएको टिप्पणी गरेका छन् । 

आइतबार काठमाडौँमा आयोजित सहिद, घाइते र बेपत्ताका परिवारको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘ठुला कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु अनौठो होइन । के–के शर्तबन्दी छन् अहिले थाहा छैन । पछि थाहा हुँदै जाला ।’ 

एमालेसहितको गठबन्धनबाट माओवादी केन्द्र बाहिरिनुलाई ओलीले रूखको पात झरेको संज्ञा दिएका छन् ।

‘एउटा पात झर्‍यो भन्दैमा चिन्तित हुनुपर्दैन । पात झर्ने नै हो । पात झरेपछि पलाउँछ । फेदको पात झरे पनि टुप्पोको पात झरे पनि मल नै हुने हो । अहिले को झर्‍याे भनिरहनु पर्दैन’, ओलीले भने । 

कार्यक्रमलाई सम्बोधनको क्रममा ओलीले प्रचण्डलाई मानिसको शरीरमा आउने पिलोका रूपमा पनि चित्रित गरेका थिए । 

उनले भने, ‘पिलो पिलो नै हो । त्यसको पहिला मुख हुँदैन । पछि मुख निस्किन्छ । पाक्छ र आफैँ निचोरिन्छ । तपाईँले निचोर्नुभएन भने पनि आफैँ निचोरिन्छ । पिलो निचोरिएपछि पनि शरीरको तौल घट्दैन । राजनीतिको पिलो निचोरिँदा आन्दोलनको आकार घट्दैन । आन्दोलन कमजोर हुँदैन ।’

प्रचण्डले हातमा चक्कु बोकेर फूल बोकेको भन्दै झुक्याउन खोजेको पनि ओलीले बताए । उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो । तर, फूल लिएर बसेको छु भन्नुभयो । तपाईँलाई चक्कुजस्तो लाग्यो होला, तर यो फूल नै हो भन्नुभयो । मैले उहाँको कुरा सुनिरहेँ ।  पत्याएर बसेँ । तर, मेरो आँखाले धोका खाएको थिएन ।’

२ वर्षअघि तिक्ततापूर्ण अवस्थाबाट छुटेका केपी ओली र प्रचण्डको सम्बन्ध गत पुस १० गतेबाट जुटेको थियो । तर, उनीहरूको सहकार्य २ महिना पनि टिक्न सकेन । 

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई राष्ट्रपति दिन नचाहेपछि एमाले र माओवादी केन्द्रको सत्ता सहकार्य टुट्ने अवस्थामा पुगेको छ ।

ओलीले एमाले सत्तामा नरहने संकेत गरेका छन् । भलै, एमालेको सचिवालय बैठकले फागुन २५ सम्म सरकार नछाड्ने निर्णय गरेको छ । 

एमाले र आफूलाई विदेशी शक्तिहरूले लखेटिरहेको ओलीको दाबी थियो । आफू प्रधानमन्त्री रहँदा चीनसँग द्विपक्षीय परिवहन र व्यापारको बाटो खोलेको र नेपाली भूमि समेटेर नयाँ नक्सा बनाएका कारण आफूहरू विदेशी शक्तिको लखेटाइमा परिरहेको उनले बताए ।  

‘अहिले एमालेको, केपी ओलीको विरोधको मात्रै एजेन्डा छ । त्यो किन भइरहेको छ ?’, ओलीले भने, ‘ उत्तरतिर चीन थियो, त्यता बाटोचाहिँ थिएन । मैले त्यताको बाटो खोलिदिएँ । भूभाग मिचिएको थियो । मैले नक्सामा समेटेर संविधानको अंग पनि बनाइदिएँ ।’ 

संविधान संशोधनका बेला राष्ट्रपति विद्यादेवी भण्डारी नभएर अन्य दलको भएको भए संविधान संशोधन पनि प्रमाणीकरण नहुुन सक्ने ओलीले बताए । 

‘हाम्रो भूभाग नक्सामा सामेल गरेर संविधान संशोधन गर्दा अहिलेको राष्ट्रपति नभएको भए प्रमाणीकरणसमेत हुँदैनथ्यो होला’, उनले भने । 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्