‘प्रचण्डले हातमा चक्कु बोकेर फूल लिएको छु भन्दै छक्याउन खोजे’

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हातमा चक्कु बोकेर आफूलाई फूल बोकेको भन्दै छक्याउन खोजेको टिप्पणी गरेका छन् । 

आइतबार काठमाडौँमा आयोजित सहिद, बेपत्ता तथा घाइतेका परिवारको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले झुक्याउन खोजे पनि आफ्नो आँखाले पनि धोका नखाएको बताएका हुन् । 

२ महिनाअघि जुटेको एमाले र माओवादी केन्द्रको सत्ता सहकार्य राष्ट्रपति चुनावको विषयलाई लिएर विभाजित भएको छ । सोही सन्दर्भ उल्लेख गर्दै ओलीले भने, ‘उहाँ –प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो । तर, फूल लिएर बसेको छु भन्नुभयो । तपाईंलाई चक्कुजस्तो लाग्यो होला, तर यो फूल नै हो भन्नुभयो । मैले पत्याएर बसेँ । तर, मेरो आँखाले धोका खाएको थिएन ।’

प्रचण्डलाई पटक–पटक प्रधानमन्त्री बनाउन योगदान गर्ने आफ्नै पार्टीका योद्धालाई समेत धोका दिएका प्रचण्डले आफूलाई धोका दिनु नौलो नभएको ओलीले दाबी गरे ।  

‘आफ्ना सहकर्मीलाई, आफूलाई त्यस ठाउँमा पु¥याउन सहयोग गर्ने योद्धालाई त असहयोग गर्नेले मलाई कसरी सहयोग गर्नुहुन्थ्यो र ?’, ओलीले भने । 

प्रचण्डले विगत २ महिना असाध्यै कठिनताका साथ बिताएको बताएको सन्दर्भ उल्लेख गर्दै ओलीले भने, ‘हरियो देख्नेबित्तिकै दाम्लो चुँडालेर जान खोज्ने, मैले रोकिदिने । उहाँलाई कसरी सजिलो हुन्थ्यो त । मसँग काम गर्दा कालेकाले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ त्यसो हुन सक्छ, त्यहीँ जानु नै थियो उहाँलाई ।’

माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन सहयोग गर्ने निर्णय गरेपछि एमाले र माओवादी केन्द्रको सत्ता सहकार्य संकटमा परेको छ ।  

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्