नेभिगेशन
समाज विविध

महानगरले बन्द बायोग्यास प्लान्ट पुनः चलाउने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ५ वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ  ।

फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ ।

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ । ‘छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौँ, उनले भने ।  

परियोजना लागि युरोपियन युनियनले ४ करोड ६० लाख र कामपाले १ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए ।

एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक ३ मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा ३ हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ । २०७० देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकोमा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो ।

लामो समयदेखि वायोग्यास प्लान्ट बन्द हुँदा बायोग्यास उत्पादनमा समस्या हुनाका साथै वायो ऊर्जासम्बन्धी नेपालमा अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या भएकाले पुनः जडान गर्न लागिएको बताइएको छ ।

सञ्चालनका लागि दक्षजनशक्ति अभावका कारण पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध