केपी ओलीले लेखे माधव नेपाललाई चिठ्ठी, राष्ट्रपतिमा नेम्बाङलाई समर्थन गर्न आग्रह

शनिबार, फागुन १३, २०७९

काठमाडौँ–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चिठ्ठी पठाएका छन् ।

आज एमाले अध्यक्ष ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै समाजवादी अध्यक्ष नेपाललाई चिठ्ठी पठाएका हुन्।

चिठ्ठीमा आम निर्वाचनको नयाँ जनादेशअनुरूप पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दर्ता गरेको उल्लेख गरेको छ।

‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’, ओलीले नेपाललाई पठाएको चिठ्ठीमा भनिएको छ ।

शनिबार विहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उसले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते एमाले नेतृत्वमा बनेको ७ दलीय गठबन्धन भत्काएर पुरानो आठ दलीय गठबन्धन ब्यूँताएका छन् ।

गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन्।

oli letter to madhav1677329996.jpg

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार