राष्ट्रपतिमा एमालेको उम्मेदवारी दाउपेच होइन : अध्यक्ष ओली

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको नेतृत्वमा ८ दलीय गठबन्धन नै नरहेकोे दाबी गरेका छन् । 

८ दलहरूबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको पनि अध्यक्ष ओलीले दाबी गरे । 

एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरूको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने पनि दाबी गरे ।

ओलीले राष्ट्रपतिमा एमालेले दिएको उम्मेदवारी दाउपेचको नभएको पनि बताए । ‘हामीलाई विश्वास छ, हामी अत्यधिक मतका साथ विजयी हुन्छौँ’, उनले भने ।

नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको उनको भनाइ छ । 

उनले भने, ‘हामीले विधिपूर्वक उम्मेदवार उठाएका छौँ । उम्मेदबारीको निस्सा पनि लिइसकेका छौँ । यो उम्मेदवारी दलीय स्वार्थ होइन् । संविधानको सही र सफल कार्यान्यनका लागि हो । प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो ।’

आफूहरूले दलीय स्वार्थ नभएर राष्ट्रिय स्वार्थका लागि नेम्वाङलाई उम्मेदवार बनाएको र यसका लागि समग्र नेपाली जनता र सबै तर्फबाट सहयोग पाउने उनले विश्वास व्यक्त गरे ।

यस्तै पुस १० गतेको सहमतिमा अन्य दलले पनि प्रतिबद्धता जनाउने उनको भनाइ छ । ‘आफ्ना प्रतिबद्धताबाट, आफ्ना बचनवद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरूबाट कोही पनि पछि हट्ने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ । कुनै चिजको पनि एक सर्कल पूरा नगरिकन एउटा जुन प्रतिबद्धता छ, जुन सहमति छ । र, जुन सम्झौता हामीले गरेका छौं । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन’, ओलीले भने ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्