चितवन २ उपचुनाव : कांग्रेसमा उम्मेदवार छान्ने जिम्मा देउवालाई

शनिबार, फागुन १३, २०७९

काठमाडौँ – नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ मा तय गरिएको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे निर्णय गर्ने अधिकार देउवालाई दिएको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले वैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट अघि सारिने उम्मेदवारबारे निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको जानकारी दिए । उनका अनुसार उपचुनाव प्रयोजनका लागि पार्टी दर्ता प्रक्रिया पनि थालिनेछ ।

चितवन– २ मा आगामी वैशाख १० मा उपनिर्वाचन मिति तोकिसकिएको छ । यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो ।

मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत मात्रै ल्याएका थिए ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार