एमाले सरकारबाट बाहिरिने

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ – विभिन्न ८ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि नेकपा एमाले सरकारबाट बाहिरिने संकेत गरेको छ ।

बालुवाटारमा शुक्रबार साँझ ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ नै यसबारे जानकारी गराएका छन् । यस्तै ओलीले सरकारबाट बाहिरिने जानकारी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि गराएका हुन् ।

अध्यक्ष ओलीले शनिबार बस्ने पदाधिकारी बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ९ दलको बैठकमा अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमतिअनुसार राष्ट्रपति पद नपाए शनिबार नै सरकारबाट बाहिरिने बताएको जानकारी गराएका थिए ।

यसैबीच सरकारमा रहेका अन्य दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग प्रधानमन्त्रीले शनिबार बिहान निर्णायक छलफल गर्ने भएका छन् ।

एमाले केन्द्रसहित प्रदेशका ६ वटा सरकारमा सहभागी छ । त्यसमध्ये ३ वटा प्रदेशमा सरकारकै नेतृत्व एमालेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार