Nic Ad Nic Ad
Nic Ad Nic Ad

कहाँ पुग्यो काठमाडौँमा भूमिगत तार बिछ्याउने काम ?

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– गत २०७६ फागुन २७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट निकै तामझामका साथ काठमाडौँ उपत्यकामा विद्युतीय र सेवा प्रदायकका तार भूमिगत गर्ने कार्यक्रमको सुरुआत गरियो ।

नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका तार भूमिगत गर्ने काम अघि बढायो । 

त्यसपछि काठमाडौँ उपत्यकाभर नै तार भूमिगत गर्ने योजना थियो । तार भूमिगत गर्ने काम अघि बढेको झन्डै ३ वर्ष बितिसक्दा पनि अहिलेसम्म काम सकिएको छैन ।

साढे २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको तार भूमिगत गर्ने काम कोरोना महामारीमा जारी बन्दाबन्दी (लकडाउन) ले रोकिन पुग्यो ।

त्यसयता पनि कामले अपेक्षित गति लिन नसक्दा अहिले पनि काठमाडौँका धेरै ठाउँमा तार भूमिगत गर्ने काम बाँकी छ । कतिपय ठाउँमा सुरु हुनै सकेको छैन । 

अहिले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रभित्र पर्ने क्षेत्रमा भूमिगत तार व्यवस्थापनको काम धमाधम भइरहेको आयोजना प्रमुखले बताएका छन् । 

काठमाडौँको उत्तरी भेग महाराजगन्ज वितरण केन्द्रअन्तर्गत विभिन्न ठाउँमा तार भूमिगत भइरहेको छ ।

त्यस केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम ६८ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख अभिषेक अधिकारीले सिएन नेपाललाई जानकारी दिए । मुख्य गरी सडक विभागअन्तर्गत पर्ने बाटोमा काम गर्न नपाएको उनले बताए ।

apticallphaibar1677239842.jpg

चक्रपथ, बालुवाटार, सुकेधारालगायत ठाउँमा तार भूमिगत गर्ने काम हुन नसकेको उनले बताए ।

गोंगबु–चाबहिल खण्डमा तार भूमिगत गर्ने काम अझै पनि अघि बढ्न सकेको छैन । तीबाहेक अन्य ठाउँमा तार भूमिगत गर्ने काम भइसकेको उनले बताए ।

बानेश्वर वितरण केन्द्रअन्तर्गत र अन्य क्षेत्रमा करिब ३३ प्रतिशत भूमिगत तार व्यवस्थापन भइसकेको आयोजना प्रमुख पीयुष मालाकारले बताए ।

उनका अनुसार कीर्तिपुर, जडीबुटी क्षेत्रमा तार भूमिगत गर्ने काम करिब सकिएको छ । कालीमाटीदेखि बल्खुखण्डको तार भूमिगतको काम पनि अन्तिम चरणमा पुगेको छ ।

कालीमाटी–कंलकी हुँदै कलंकीदेखि थानकोटसम्मको तार भूमिगतको काम अहिले अघि बढेको उनले बताए । उनका अनुसार अझै पनि बानेश्वर, बालाजु क्षेत्रमा तार भूमिगत गर्ने काम अघि बढ्न सकेको छैन ।

यता, रत्नपार्क वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम करिब ६५ प्रतिशत सकिएको छ । करिब ६३० किलोमिटरमध्ये ४०० किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने काम सकिएको रत्नपार्क वितरण केन्द्रअन्तर्गत भूमिगत तार व्यवस्थापन आयोजनाका प्रमुख सुमन श्रेष्ठले जानकारी दिए ।

सो खण्डमा ११ केभी र ४०० केभी क्षमताको विद्युतीय तार भूमिगत गरिसकिएको उनले बताए ।

रत्नपार्क वरिपरिको क्षेत्रमा पनि भूमिगतको काम बाँकी छ । खास गरी बागबजार, पुतलीसडक, न्युरोड, जमल, लैनचौरलगायत ठाउँमा भूमिगतको काम अघि बढ्न सकेको छैन ।

अहिले त्रिपुरेश्वरदेखि टेकुसम्म तार भूमिगत गर्ने काम भइरहेको छ । माइतीघर, थापाथली, तीनकुने, एयरपोर्ट क्षेत्रमा पनि तार भूमिगत गर्ने काम अघि बढ्न सकेको छैन ।

कोरोनाकालमै भूमिगत गर्ने काम अघि बढेकाले ढिलाइ हुन पुगेको श्रेष्ठले बताए । कोरोनाका बेला निर्माण अवरुद्ध भएपछि १५ महिना म्याद थप गरिएको थियो । थपिएको समयसीमा पनि गएको माघमा सकिएको छ ।

तार भूमिगत गर्न सडक भत्काउनुपर्ने र खन्नुपर्ने हुन्छ । त्यसका लागि सडक विभागबाट अनुमति लिनुपर्नेलगायत कारणले केही ढिलाइ हुन पुगेको उनको भनाइ छ ।

काठमाडौँभित्र विद्युतीय तार भूमिगत गर्ने जिम्मा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडले पाएको थियो ।

कुल ७ अर्ब लागत अनुमान गरिएको भूमिगत तार बिछ्याउने काममा ढिलाइ हुँदा लागत बढ्न सक्ने विद्युत् प्राधिकरण स्रोतले जनाएको छ ।

काठमाडौँभित्र ३ वटा छुट्टाछुट्टै ठेक्कामा तार भूमिगत गर्ने काम भइरहेको छ । 

काठमाडौँमा भूमिगत तार बिच्छ्याउने काम केही हदसम्म अघि बढे पनि ललितपुर र भक्तपुर क्षेत्रमा भने निकै धिमा छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्