सन्तुलित परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी : राष्ट्रपति

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले बदलिँदो परिवेशअनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताइन्।

‘बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ’, उनले भनिन् ।

एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको छ भने अर्कातर्फ विश्वव्यापी रूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको सङ्कटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गरिन्।

उनले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । नेपालले सदैव आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गरिन् ।

‘बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालन गर्नु हाम्रो प्राथमिकतामा पर्नुपर्दछ । नेपालको संविधानले निर्दिष्ट गरेको मुलुकको शासन सत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’, उनले भनिन् ।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्द्धन गर्नु हो भन्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिइन् ।

उनले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकारको पैरवी तथा पर्वतीय मुलुकको विकाससम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन नेपालले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन्। आर्थिक विकास, वैदेशिक लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्द्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरी आर्थिक लगानी आकर्षण गर्न पहल गरिनुपर्नेमा जोड दिइन् । उनले भारत र चीनले आर्थिक विकासमा गरेको अभूतपूर्व उपलब्धिबाट नेपाल खुसी रहेको भन्दै यसबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिइन् ।

दुई निकट छिमेकी मुलुकका साथै अन्य मित्रराष्ट्र तथा श्रम गन्तव्य मुलुकसँगको सम्बन्धलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको उनले उल्लेख गरिन् । उनले नेपालको अन्तर्राष्ट्रिय छविको प्रवर्द्धनका साथै आर्थिक विकास र सामाजिक प्रगतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्न संयुक्त राष्ट्रसङ्घलगायत संस्थासँगको सम्बन्धलाई सुदृढ तुल्याइनुपर्ने खाँचो औँल्याइन् ।

संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुरूप सार्वभौम समानताको सम्मान, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान सबै राष्ट्रले आत्मसाथ गर्दै अन्तर्राष्ट्रिय शान्ति र विवादरहित समाधानका लागि कूटनीतिक सम्वादका रूपमा पहल गरिनुपर्नेमा जोड दिइन् । साथै उनले विश्व शान्ति, असंलग्न र पञ्चशीलमा आधारित नेपालको परराष्ट्र नीतिलाई सुदृढ बनाउने उद्देश्यका साथ सकारात्मक गोष्ठी र छलफलजस्ता महत्त्वपूर्ण कार्यक्रम गर्दै आएकोमा संस्थाको सराहना गर्दै आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिन आग्रह गरिन् ।

राष्ट्रपतिले देश र विश्वमा भएका परिवर्तनका सन्दर्भलाई ध्यानमा राखी यस्ता सार्वजनिक मञ्चले परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय मामिलामा वस्तुगत तथा सान्दर्भिक पक्षमाथि छलफल र बहस गर्नुपर्दछ भन्दै यसले परराष्ट्र नीतिमा साझा दृष्टिकोण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् र

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले नेपालले सन्तुलित कूटनीतिको माध्यमबाट विश्वपरिवेश जटिल बनिरहेको आजको सन्दर्भमा शान्ति प्रवर्द्धनका निम्ति सकारात्मक र समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । 

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक बहस र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । सो अवसरमा परिषद्ले प्रकाशन गरेको स्मारिका राष्ट्रपति भण्डारीले विमोचन गरेकी थिइन् । त्यस अवसरमा कूटनीतिक तथा आर्थिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै परिषद्ले डा थापालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्