राष्ट्रपति चुनाव

राष्ट्रपति निर्वाचनको यस्तो दौडधुपमा कहाँ हरायो रास्वपा ?

राष्ट्रपतिमा कसलाई भोट हाल्दै छ रास्वपाले ?
बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– प्रमुख राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तीव्र दौडधुपमा रहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने पूरै ‘गायब’ भएको छ । 

सानादेखि ठुला राजनीतिक दलहरू नयाँ राष्ट्रपतिका लागि दौडधुपमा लागिरहेको समयमा प्रतिनिधिसभामा १९ सांसद रहेको रास्वपा चर्चाविहीन अवस्थामा पुगेको हो ।

रास्वपाभन्दा साना दलहरू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले राष्ट्रपतिमा दाबी गरेर राजनीतिक भेटघाट बढाए पनि रास्वपा भने सतहमा नदेखिएको हो ।

वर्तमान सत्ता गठबन्धनमा रास्वपा पनि सहभागी भएपछि पुस १० गते नयाँ सरकार गठन भएको थियो । नेकपा एमालेको सक्रियतामा बनेको सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए ।

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पदसमेत गुमेको थियो ।

त्यसपछि माघ २२ मा सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर आफ्ना कुराहरू राखेका थिए ।

‘पार्टीको आजको बैठकले ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दै छु । म चाहन्छु– सिंगो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरून्, सुनून् । मैले सीधा कुरा नगरेको धेरै भएछ,’ लामिछानेले सो दिनको पत्रकार सम्मेलनअघि सामाजिक सञ्जालमा लेखेका थिए ।

मम1677135608.jpg

सोही दिन सभापति लामिछानेले आफ्ना कुरा राख्ने क्रममा ‘मेन स्ट्रिम’ मिडिया र त्यसका सम्पादक तथा प्रकाशकविरुद्ध विभिन्न आरोप लगाएका थिए ।

माघ २२ को पार्टी बैठकले सरकारबाट फिर्ता हुने र सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार रास्वपाबाट मन्त्री बनेका सांसदहरूले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपा र सो पार्टीका सभापति लामिछाने करिब गुमनाम देखिएका छन् ।

प्रमुख राजनीतिक दलहरू अहिलेको सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने गृहकार्यमा लागेका छन् । त्यसो गर्दा अहिलेको सत्ता गठबन्धनको प्रमुख सूत्रधार नेकपा एमाले सरकारबाट बाहिरिने अवस्था आउने देखिन्छ ।

नयाँ सत्ता गठबन्धन बन्ने भएपछि साना दलहरू पनि राजनीतिक दौडधुपमा लाग्ने र आफ्नो कित्ता क्लियर गर्ने रणनीतिमा छन् । तर, रास्वपा भने गुमनाम जस्तै देखिएको छ ।

‘म पार्टी संगठनको कामको सिलसिलामा उपत्यका बाहिर थिएँ, हिजो मात्रै काठमाडौँ आएको हुँ, अब हाम्रो पनि छलफल हुन्छ होला । त्यसपछि (राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको कित्ता) प्रष्ट हुन्छ,’ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सिएन नेपालसँग भने ।

सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनुन्जेल सो पार्टी एमालेसँग एकदमै नजिक देखिएको थियो । एमाले अध्यक्ष केपी शर्मा आलीले पनि लामिछानेलाई पुनः उपप्रधान तथा गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए । 

तर, पछिल्लो समय रास्वपा र एमालेको दुरी बढ्दै गएको स्रोतको दाबी छ । अहिले रास्वपा एमालेभन्दा पनि कांग्रेसले नेतृत्व गर्न लागेको गठबन्धनतिर नजिक भइरहेको स्रोतले जानकारी दियो । 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्