बाल मन्दिरको जग्गा हडप्नेलाई कारबाही माग

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएको लगायत विषयमा छानबिन गर्न गठित सो आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।

उनले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चल-अचल सम्पत्ति दुरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानुनी कारबाही गर्न आयोगले सुझाव दिएको आफूले जानकारी पाएको उल्लेख गर्दै सो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाइ गर्न नहुने बताइन् । 

सांसद श्रेष्ठले अनाथ बालबालिकाका लागि भनेर दिइएको सम्पत्ति समेत अतिक्रमण गरिएको भन्दै आक्रोश व्यक्त गरिन् । 

‘२०१८ सालमा निजी सम्पत्तिलाई अतिक्रमण गरेर अनाथ बालबालिकाका लागि हेरचार गर्ने भनेर नेपाल बाल संगठनलाई जिम्मा दिइयो । तर अहिले बाल मन्दिरको एकल स्वामित्व रहेको २८ रोपनी जग्गा र नेपाल ललितकलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी जग्गा करिब ५७ रोपनी जग्गा कसले भोगचलन गरिरहेको छ ?,’ उनले प्रश्न गरिन्, ‘कसको हितका लागि प्रयोग भइरहेको छ ?’

‘त्यस्तो प्राइम ठाउँमा भएको जग्गालाई कौडीको भाउमा बहालमा लगाउनेहरू कहलिएका व्यक्तित्व र व्यावसायिक घराना छन्,’ उनले अगाडि भनिन्, ‘यो संगठनको बोर्डमा आफ्नो मान्छे छिराउने पहिला । अनि, त्यो बोर्ड कब्जा गर्ने र सीमित मान्छेहरूका लागि त्यो बोर्डले काम गर्ने कुरा कतिचोटि पत्रपत्रिकाका आइसक्यो ।’

सांसद श्रेष्ठले नेपाल ललितकला प्रतिष्ठानको २९ रोपनी जग्गासमेत दुरुपयोग गर्ने काम भइरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई सचेत गराइन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्