राष्ट्रपतिको प्रस्तावपछिका माधव नेपाल : उत्साही छन् तर, विश्वस्त छैनन् 

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशितरूपमा राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । 

व्यक्तिगत झगडाकै कारण नयाँ पार्टी बनाएर छुट्टिएका नेपाल र ओलीको व्यक्तिगत सम्बन्ध सुमधुर छैन् । तर, राजनीतिक स्वार्थका लागि भए पनि ओली र नेपालले आइतबार एक्ला एक्लै भेटवार्ता गरेका छन् । 

गत आइतबार महाराजगन्जस्थित एक घरमा भएको भेटवार्तामा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको एकीकृत समाजवादीका नेताहरूले बताए । तर, नेपालले भने पार्टीमा सल्लाह गरेर मात्रै ओलीको प्रस्तावबारे जवाफ दिने बताएको एकीकृत समाजवादीका नेताहरुले जानकारी दिए । 

ओलीसँगको भेटमा नेपालले पार्टीमा सल्लाह गर्छु भने पनि उनले पार्टीका केही विश्वासपात्र नेताहरूलाई मात्रै ओलीको प्रस्तावबारे जानकारी गराएका छन् । बरू नेपालले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको प्रस्ताव बारे छलफल गरेका छन् ।

एमाले अध्यक्ष ओलीले शर्तसहित राष्ट्रपति उम्मेदवारको प्रस्ताव गरेपछि नेपाल निर्णयमा पुग्न छलफल गरिरहेको बुझिएको छ । नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि नेकपा एकीकृत समाजवादी भने एमालेमा मिसाउनुपर्ने ओलीको शर्त छ । 

राष्ट्रपति प्रस्तावमा रणनीतिक स्वार्थ 

एमाले अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव गर्नुमा ३ वटा मुख्य स्वार्थ रहेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

एमालेले आफ्नै उम्मेदवार राष्ट्रपति बन्ने बताउँदै आएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउन तयार छैनन् । एमालेलाई राष्ट्रपति दिँदा ओलीको खास व्यक्ति उम्मेदवार हुने र मुख्य राजनीतिक पदहरुमा एमाले हावी हुने प्रचण्डको बुझाई छ । बरू कांग्रेसलाई राष्ट्रपतिमा सघाउँदा प्रचण्डको सत्ता स्वार्थ पनि सम्बोधन हुन्छ ।

प्रधानमन्त्रीको यस्तो मनस्थिति थाहा पाएका ओलीले आफ्नो उम्मेदवार राष्ट्रपति नबन्ने बुझिसकेका छन् ।

पछिल्ला दिनमा ओली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुन नदिने र आफुले अघि सारेको व्यक्तिलाई प्रचण्ड र देउवाले अस्वीकार पनि गर्न नसक्ने अवस्था सृजना गर्ने रणनीतिमा लागेका छन् । त्यसका लागि ओलीले देखेको उपयुक्त पात्र माधव नेपाल हुन् ।

ओलीको अर्को स्वार्थ संसदमा ठूलो दलको नेता बन्ने हो । त्यसमा लागि एकीकृत समाजवादीका सांसदलाई एमालेमा मिसाउँदा सजिलो हुन्छ । अहिले संसदमा एमालेका ७९ सांसद छन् । एकीकृत समाजवादीका १० सांसद मिसाउँदा ८९ हुन्छ । जुन कांग्रेसको सांसद संख्या बराबर हो । कोही स्वतन्त्र सांसदलाई पार्टी प्रवेश गराउँदा एमाले संसदको ठूलो दल बन्न सक्छ । संसदको ठूलो दल भएपछि संविधानको धारा–७६ को उपधारा ३ अनुसारको सरकार बन्ने अवस्थामा ओली नै प्रधानमन्त्री बन्न पनि सक्छन् । 

त्यसबाहेक, माधव नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीलाई एमालेमा फर्काउँदा पार्टीभित्र भाग खोज्दै झगडा गर्ने नेता हुँदैनन् भन्ने विश्लेषण पनि ओलीको हुनसक्ने एकीकृत समाजवादीका नेताहरु बताउँछन् । 

तर, माधव नेपाललाई आएको राष्ट्रपतिको प्रस्तावबारे उनले पार्टीलाई जानकारी नगराएका अहिले सबैकुरा अनुमानमा मात्रै रहने एकीकृत समाजावादी एक पदाधिकारीले बताए ।

‘उहाँले (माधव नेपाल) प्रस्ताव आएको बारे पार्टीलाई जानकारी गराउनुभएको छैन् । हामीले छलफल गर्न पाएका पनि छैनौं । सञ्चार माध्यममा आएको विषयका आधारमा अनुमानित कुरा मात्रै गर्न सकिन्छ । पार्टीलाई जानकारी भएपछि मात्रै आधिकारिक कुरा हुन्छ’, एकीकृत समाजवादीका एक पदाधिकारीले भने । 

पार्टी बुझाउनुपर्ने शर्तमा असन्तुष्टि

राष्ट्रपतिको उम्मेदवार बन्दा पार्टी एमालेमा समाहित गर्नुपर्ने ओलीको प्रस्ताव भने एकीकृत समाजवादीका नेताहरुले अस्वीकार गरेका छन् । एक जना व्यक्तिलाई कुनै पद दिलाउनको लागि पार्टी नै अर्कोलाई जिम्मा लगाउन नसकिने एकीकृत समाजवादीका एक नेताले बताए । 

‘राष्ट्रपतिमा बार्गेनिङ गर्नका लागि विद्रोह गरेका होइनौं । हिजो गलत करार गरेको व्यक्ति आज राष्ट्रपति पाइयो भन्दैमा सहि हुन सक्दैन । एक जनलाई राष्ट्रपति बनाएर पार्टी चाहिँ केपी ओलीलाई बुझाउने कुरा हुँदैन’, ती पदाधिकारीले भने ।

एमाले अध्यक्ष ओलीले हिजो शत्रु घोषणा गरेको व्यक्ति अहिले उनका लागि कसरी राष्ट्रपति बन्न योग्य भयो भन्ने नै शंकाको विषय रहेको ती नेताले बताए । 

उनले भने, ‘हिजो बालकोटको बार्दलीबाट देशद्रोही र गद्दार घोषणा गरेको व्यक्ति आज एकाएक कसरी राष्ट्रपतिको उम्मेदवार बन्न योग्य भयो ? यसमा स्वार्थ र जालझेल छ । त्यसलाई मिहिनरूपमा केलाउनुपर्छ ।’ 

नेपाल उत्साही छन् तर, विश्वस्त छैनन्

केपी ओलीले भेटेरै राष्ट्रपतिको प्रस्ताव गरेपछि माधव नेपालमा उत्साह भने बढेको छ । तर, ओली प्रस्तावप्रति पूर्णरुपमा विश्वस्त नभइसकेको उनी निकट एक नेताले बताए । 

पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि राष्ट्रपतिमा माधव नेपालको नाम चर्चामा आएको थियो । तर, एमालेभित्रै उनको नाममा विरोध भएपछि ती हल्ला त्यसै सेलाएका थिए । 

अहिले एमालेको उम्मेदवार राष्ट्रपति नबन्ने अवस्था आएपछि फेरि माधव नेपालको नाम चर्चामा छ ।

हुन त २०७२ मा पनि राष्ट्रपतिमा माधव नेपालको नाम चर्चामा थियो । त्यसबेला नेपालले राष्ट्रपतिको उम्मेदवार बन्न इन्कार गरेका थिए । त्यसपछि एमालेले तत्कालिन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाएको थियो ।

ओलीको प्रस्तावपछि नेपालले आफ्नो पार्टीका निकट नेता र प्रधानमन्त्रीसँग राष्ट्रपतिको उम्मेदवार बन्ने बारे छलफल गरेका छन् । त्यसबाहेक, मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तय गरेका छन् । तर, आफु नै राष्ट्रपतिको उम्मेदवार बन्नेमा नेपाल विश्वस्त नभइसकेको उनी निकट एक नेताले बताए । 

मंगलबार दिउँसो दाङ पुगेका नेपालले अहिले नै आफु राष्ट्रपति बन्नेबारे नसोचेको प्रतिक्रिया दिएका थिए । 

मंगलबार दाङको भालुबाङमा सञ्चारकर्मीहरुसँगको छलफलमा नेपालले राष्ट्रपति बन्न आफूलाई आधिकारिक प्रस्ताव नआएको बताएका थिए । तर, पावर शेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने भन्दै घुमाउरोरुपमा राष्ट्रपति पदमा दावी गरेका थिए । 

‘चाहना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने निर्णय गरिसकेको छैन । तर, पावर शेयरिङमा हाम्रो पनि भूमिका हुनुपर्छ । सधैं अरुका लागि बलिदान गर्ने कुरा हुँदैन’, दाङमा नेपालले भनेका थिए । राष्ट्रपति चुनावको लागि बृहत् छलफलको आवश्यकता रहेको नेपालले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्