लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । 

पार्टीका अध्यक्ष नेपालले ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र विरुद्ध दिएको वक्तव्यप्रति आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

लोकतान्त्रिक गणतन्त्र विरुद्ध भ्रम फैलाउने उक्त वक्तव्यमा राजनीतिक दलप्रति लाञ्छना लगाउने कार्य असंवैधानिक रहेको विज्ञप्तिमा भनिएको छ । 

जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको संविधानद्वारा सामान्य नागरिक बनाएका शाहले केही दिन अगाडि झापाबाट गणतन्त्र विरोधी अभियान उद्घाटन गरेको र पटक पटक जनताको अधिकार हनन गरेको राजतन्त्रको ढाकछोप गरी गणतन्त्रविरुद्ध बोल्नु सरासर गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस्तो अभिव्यक्तिले अग्रगमन, प्रगति चाहनेलाई गम्भीर र चिन्तित बनाएको बताउँदै यसखाले गतिविधिका बिरुद्ध सबै जनता एकताबद्ध भएर प्रतिवाद गर्न आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्