नेभिगेशन
समाज विविध

‘किताब छपाइ निजी क्षेत्रलाई दिन सकिँदैन’

शिक्षा सचिवले भने– सिस्टमलाई ट्रस्ट गर्नैपर्छ

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम निजी क्षेत्रलाई दिनै नहुने पक्षमा उभिएका छन् । 
जनक शिक्षा सामग्री केन्द्रले सो पाठ्यपुस्तक छपाइमा ढिलाइ गरिरहेका बेला सचिव सुवेदीले यस्तो अडान लिएका हुन् । 
सोमबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले सो पाठ्यपुस्तक छपाइमा जनक शिक्षा सामग्री केन्द्रमाथि नै भर पर्नुको विकल्प नरहेको जिकिरसमेत गरे । 
बैठकमा सांसदहरूले निजी क्षेत्रलाई दिएर भए पनि विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरूमा उपलब्ध गराउन सरकारलाई दबाब दिएका थिए । त्यसको जबाफ दिँदै सचिव सुवेदीले यही चैत १५ गतेभित्र छपाइ सकेर पाठ्यपुस्तक विद्यालय पठाउने प्रतिबद्धता आएको उल्लेख गर्दै आफूले त्यसको भर पर्नुको विकल्प नदेखेको भन्दै जनक शिक्षा सामग्री केन्द्रको बचाऊ गरे । 
त्यस अवसरमा उनले निजी क्षेत्रलाई सो पाठ्यपुस्तक छपाइको जिम्मा दिन नीतिगत र कानुनी जटिलता रहेको तर्क पनि गरे । 
‘मैले आफ्नो कुरा स्पष्ट गर्न सकिनँ भने म सचिव हुँदिनँ । म सचिव भएर मैले ट्रस्ट गरिनँ भने मैले सबै गर्ने होइन । म इम्पिलिमेन्टेसनमा जान सक्दिनँ,’ उनले भने, ‘जनक शिक्षाले भनेको मैले पत्याउनपर्छ । इज एन्ड एभ्री टास्कमा म एक्सनमा जान सक्दिनँ ।’
त्यसरी सिस्टमको विश्वास नगर्ने हो भने संसार नै नचल्ने भन्दै उनले भने, ‘उहाँहरूले चैत १५ सम्म छाप्छु भनिसक्नु भएको छ । वितरण समयमै गर्छु भनिराख्नुभन्नु भएको छ,’ उनले अगाडि भने, ‘अब ट्रस्ट गर्ने कि नगर्ने ? ट्रस्ट नगर्ने हो भने हामी एक्सनमा त्यहीअनुसार जानुपर्छ । ट्रस्ट गर्ने हो भने उनीहरूले गर्छन् भन्ने विश्वास गर्नुपर्छ ।’
जनकले दिन्छु भनेको समयमा दिन सकेन भने मात्रै एक्सनमा जानुपर्ने सचिव सुवेदीको भनाइ थियो । 
सचिव सुवेदीले धराशायी भएको सो केन्द्रलाई बचाउन पनि आफूले पाठ्यपुस्तक छपाइको काम निजी क्षेत्रलाई दिन सक्ने अवस्था नरहेको बताए । कागज सप्लाई गर्ने र छपाइ पनि एउटैले गर्ने गरी कसरी निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाइको जिम्मा दिन सकिन्छ ? भनी उनले समितिमा पटकपटक प्रश्न गरे । 
सचिव सुवेदीले पोलिसी, ऐन र कानुनले सम्बोधन नगरेको सो विषयमा जबाफ दिन आफूलाई अप्ठ्यारो भइरहेको पनि बताए ।
बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले समयमै पाठ्यपुस्तक विद्यालयहरूमा पु¥याउने कुरामा अझै कुनै सुनिश्चितता नभएको भन्दै सरकारको आलोचना गरे । 
उनले सरकारकै कारण विद्यालय तहको पाठ्यपुस्तक विद्यार्थीहरूले समयमै पाउने अवस्था नरहेको बताए । 
विद्यालय तहको पाठ्यपुस्तक छपाइमा किन ढिलाइ भइरहेको भनी सरकारलाई प्रश्न गर्दै कांग्रेस सांसद कमला पन्तले भनिन्, ‘पाठयपुस्तक छपाइ कहाँ रोकियो ? त्यसको जबाफ दिनुप¥यो । तर, यो समयमै पुग्नुप¥यो ।’
यता, जनक शिक्षा सामग्री केन्द्रले भने विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरूमा पु¥याउने प्रतिबद्धता जनाउँदै आएको छ । तर, त्यसअनुसारको तयारी नभएको सांसद पन्तको आपत्ति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध