आँबुखैरेनीका जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने

सोमबार, फागुन ८, २०७९

दमौली –तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरिएको हो ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकामा ३२  जनप्रतिनिधि छन् ।

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब ४०५ जना विद्यार्थी अध्ययनरत छन् । ‘सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौँ, व्यवहारमा उतार्दैनौँ, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौँ’, उनले भने । यसो गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्ने उनको विश्वास छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालिएको छ । पहिलो चरणमा ३ देखि ५ वटा विद्यालयलाई बस हस्तान्तरण गरिने अध्यक्ष चुमानले बताए ।

यसैबीच आँबुखैरेनी गाउँपालिका–५ को वडा भवनमा विद्यालय स्थानान्तरण गरिने भएको छ । त्यस वडाको इन्द्रदेवी आधारभूत विद्यालयको भवन जीर्ण रहेकाले वडा कार्यालयमा विद्यालय स्थानान्तरण गर्न लागिएको हो । 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्