ओलीले भने –ज्ञानेन्द्रजीलाई अझै पुरानो झझल्को आइरहेको छ

आइतबार, फागुन ७, २०७९

काठमाडौँ –एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अझै अलमलमा रहेको र पुरानै धङधङी देखिएको टिप्पणी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र वरिपरी दुई–चारजना देखिएपछि उनी हौसिएको ओलीले टिप्प्णी गरे ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । उहाँलाई अझै पनि त्यो पुरानो झल्को आइरहेको छ ।’

ओलीले भने, ‘ज्ञानेन्द्रजीलाई अझै पुरानो झझल्को आइरहन्छ । दुई–चारजना वरिपरी देखे भने फेरि त्यो झल्को आइहाल्दो रहेछ । अहिलेभन्दा १५ वर्ष अगाडि २४० वर्ष उहाँहरूले देश चलाएको होइन ?’

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले राजनीतिक दलहरूलाई आफूसँग मिलेर जान भनी दिएको सन्देशका विषयमा पत्रकारहरूले सोधको प्रश्न प्रतिप्रश्न गर्दै उनले भने, ‘ १५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन ? के बनाउनुभएको थियो उहाँहरूले ? अरु देशहरूको तुलनामा कहाँ पु¥याउनुभएको थियो देश ? १५ वर्षमा कतिवटा कुरा मिल्दै होलान्, मिलाउनै पर्ने होला ।’ शाहले राखेको सहकार्यको प्रस्तावको जवाफमा ओलीले प्रश्न गरे ‘कोसँग, केसँग सहकार्य ? ज्ञानेन्द्रजी आएर राजनीतिमा हिँडिराख्नुभएको छ । अस्ति मेचीमा गएर दियो बाल्नुभयो । भएकै छ त ।’

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यमा ढिलाइ गर्न नहुने बताएका थिए ।

ण्ण्


 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्