जुन रूख हेरेर बिपी कोइरालाले कांग्रेसको चुनाव चिह्न बनाए

आइतबार, फागुन ७, २०७९

काठमाडौँ- २३ नोभेम्बर, २०२१ का दिन जनकपुरस्थित अर्थशास्त्रका प्राध्यापक सुरेन्द्र लाभले फेसबुकमा एउटा तस्बिर साझा गरे, जसले धेरैको ध्यान आकृष्ट गर्‍यो ।

उक्त तस्बिरले सबैको ध्यान तान्नुको कारण थियो– यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास बोकेको थियो ।

उक्त तस्बिर (माथि प्रयोग गरिएको) रूखको हो । झन्डै २०० वर्ष पुरानो मानिएको यो रूख सिरहा जिल्लाको औरही गाउँपालिका–५ मा रहेको डा. राजेशचन्द्र दासको घरको प्रांगणमा छ । यसलाई मैथिली भाषामा ‘भालसरी’को रूख भनिन्छ । यस रूखलाई मौलसिरी र संस्कृतमा बकुल, मधुगन्धी, चिरपुष्प, स्थिरपुष्प भनिन्छ ।

भालसरी सदाबहार रूख हो । यो दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र उत्तर अस्ट्रेलियामा पाइन्छ । भालसरीको फल खान सकिन्छ भने पारम्परिक औषधिका रूपमा पनि यसको प्रयोग हुन्छ । यसको फूल सेतो र फल पहेँलो हुन्छ । 

वनस्पतिशास्त्रमा यस रूखको महिमा जे–जस्तो भए पनि यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास बोकेको मधेस प्रदेशका पूर्वराष्ट्रिय योजना आयोगका सदस्य पनि रहेका प्राध्यापक लाभ बताउँछन् । 

नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको चुनाव चिह्न यही रूखबाट प्रेरित भएको स्थानीय बासिन्दाको दाबी छ ।

कांग्रेसले २०१५ सालदेखि हालसम्म प्रयोग गर्दै आइरहेको चुनाव चिह्न ‘रूख’ यही रूखबाट प्रेरित भएर कांग्रेसका संस्थापक नेता तथा तत्कालीन सभापति बिपी कोइरालाले राखेका थिए ।

नेपालको राजनीतिमा कांग्रेस भनेको रूख र रूख भनेको कांग्रेस भन्ने मान्यता नै स्थापित छ । ‘कांग्रेसको चुनाव चिह्न डा. दासको औरहीस्थित घरको प्रांगणमा अवस्थित भालसरीको रूखबाट नै प्रेरित भएको हो’, लाभले सिएन नेपालसँग भने ।

डा. दास पनि आफ्नो घरको प्रांगणमा रहेको यही रूख हेरेर नै कांग्रेसले २०१५ सालमा पार्टीको चुनाव चिह्न बनाएको दाबी गर्छन् । 

लाभका अनुसार नेपाली कांग्रेसका लागि औरही ऐतिहासिक ठाउँ हो । दास परिवारको घरमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको आउजाउ बाक्लै हुन्थ्यो ।

कांग्रेसका कतिपय नेताहरूका अनुसार संस्थापक नेताहरू बिपी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत नेताले औरहीको त्यही रूखको फेदमा बसेर चुनाव चिह्न परिकल्पना गरेका थिए । 

ram chandra with tree1676791102.jpg
भालसरीको रूखसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।

दास परिवार र कांग्रेसबीच पुरानो सम्बन्ध छ । दास परिवारका सदस्य देवनाथ दास र सूर्यनाथ दास कांग्रेसका संस्थापक नेताहरूमध्येमा पर्छन् । उनीहरू दुवै दाजुभाइ हुन् ।

दास बन्धु दुवै पहिलो संसद्मा कांग्रेसका तर्फबाट सांसद थिए । तत्कालीन राजा महेन्द्रले १ पुस, २०१७ मा राजनीतिक ‘कू’ गरेर पहिलो जननिर्वाचित सरकार विघटन गरेपछि दास बन्धु भारत निर्वासनमा गएका थिए । अहिले पनि उनीहरू भारतको दरभंगामै बस्छन् । 

देवनाथका छोरा डा. दास पनि आफ्ना पिता कांग्रेस संस्थापकमध्ये एक भएको बताउँछन् ।

डा. दासका भाइ सुरेशचन्द्र दास पनि २०५२ सालमा कांग्रेसका तर्फबाट स्वास्थ्य सहायकमन्त्री भएका थिए । उनी २०४८ र २०५१ सालमा सिरहा क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट सांसदमा निर्वाचित भएका थिए ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय पूर्वसहायक मन्त्री दास २०४८ देखि २०५१ सम्म कांग्रेसको महासमिति सदस्य थिए । 

मधेसको एउटा सानो गाउँमा रहेको एउटा रूखले जसरी नेपाली प्रजातान्त्रिक आन्दोलनको प्रतिनिधित्व गर्छ, यसले देशमा प्रजातन्त्रका खातिर मधेसी समुदायले निर्वाह गरेको भूमिकालाई पनि सम्मान गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्