पूर्वराजा ज्ञानेन्द्रको समर्थन गर्दै रवीन्द्र मिश्रले भने– सहकार्य गर्न बिलम्ब गर्नु हुँदैन

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रस्तावको समर्थन गर्दै अब राजसंस्था र दलहरूबीच सहकार्य गर्न बिलम्ब गर्नु नहुने बताएका छन् ।

पूर्वराजा शाहद्वारा शनिबार साँझ प्रजातन्त्र दिवसको अवसरमा जारी सन्देशको एक अंश सामाजिक सञ्जालमा राख्दै मिश्रले देश जोगाउन दुई शक्ति मिल्नुपर्ने आशय व्यक्त गरेका छन् ।

‘प्रजातन्त्र दिवसका अवसरमा राजा ज्ञानेन्द्रको सन्देशबाट । नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौँ। ...तर, नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौँ। यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा-चिरा पर्न थालेको छ,’ मिश्रले विचारमाथि देश भन्दै आइबार फेसबुकमा लेखेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’

वैकल्पिक राजनीति भन्दै कुनैबेला छुट्दै दल खोलेका मिश्र गत असोजमा राप्रपामा प्रवेश गरेका थिए । प्रवेश गर्नु केही समयअघिदेखि नै उनले राजसंस्थाको वकालत गर्दै आएका छन् ।

पूर्वराजा शाहले शनिबार साँझ देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान गरेका थिए ।


 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्