महाशिवरात्रिका अवसरमा राजधानीमा रथयात्रा

शनिबार, फागुन ६, २०७९

काठमाडौँ– महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गरेको छ ।
 
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको रथयात्रा कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–मित्रपार्क–जयवागेश्वरी–गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर सम्पन्न गरिएको हो ।

ट्रस्टले विसं २०६६ देखि सनातन धर्म, संस्कृतिको रक्षाका लागि राजधानीमा रथयात्रा आयोजना गर्दै आएको छ ।
 
यस वर्ष १४औँ रथयात्रा गरिएको ट्रस्टका अध्यक्ष शंकर पौडेलले जानकारी दिए । रथयात्रामा एक दर्जनभन्दा बढी संस्थाको सहभागिता थियो ।

शिव, पार्वतीको रथसँगै शङ्ख-घण्ट ध्वनिका साथ रथयात्रा गरिएको हो । रथयात्राबाट सनातन धर्म, संस्कृतिका क्षेत्रमा भइरहेको चौतर्फी आक्रमण रोक्न सकिने विश्वास ट्रस्टको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्