‘रोजगारीको सुनिश्चितता भएन’

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ–पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्न नसकेको टिप्पणी गरेकी छन् ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा उहाँले सरकारले शिक्षा, स्वास्थ्य सुनिश्चितता नगरी व्यापार गरिरहेको तर्क गरिन् ।

‘शिक्षा र स्वास्थ्यमा व्यापार हुँदा अधिकाशं आर्थिक स्थिति कमजोर भएका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्’, उनले भनिन् ।

सरकारले दिने छात्रावृत्ति कसले पाउँछ भनेर थाहा पाउन गाह्रो हुने गरेको उनको भनाइ थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् ।

क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री होमनाथ दाहालले शिक्षा र स्वास्थ्य गुणस्तर नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए । नेपालको शिक्षा क्षेत्र दयनीय रहेको उनको भनाइ थियो । क्याम्पस सञ्चालक समितिका सदस्य एवं पूर्वमन्त्री विक्रमबहादुर थापाले महिला शिक्षालाई अगाडि बढाउन डिल्लीबजार कन्या क्याम्पसले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

परिवारमा एउटा महिला शिक्षित भयो भने सबै शिक्षित हुन्छन् भन्ने मुख्य मान्यताका साथ विसं २०३७ मा स्थापना भएको उक्त क्याम्पसले अहिले स्नातक तहमा बिवीएम, बिएड, बिबीएस र स्नातकोत्तर तहमा अङ्ग्रेजी, समाजशास्त्रलगायतका विषयमा अध्यापन गराउँदै आइरहेको सो क्याम्पसका क्याम्पसप्रमुख अपराजिता अर्यालले जानकारी दिनुभयो ।

बयालीसौँ वार्षिकोत्सवका अवसरमा आज सो क्याम्पसमा पढाउँदा–पढाउँदै पिएचडी गर्ने प्राध्यापक, निवृत्त हुने कर्मचारी, उत्कृष्ट प्राध्यापक, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यस्तै वार्षिकोत्सवकै अवसरमा सप्ताहव्यापी खेलकुद प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा क्याम्पसले वार्षिकरूपमा प्रकाशन गर्दै आएको ‘पुष्पाञ्जली’ पत्रिकाको विमोचन गरिएको थियो ।

न्यून तथा मध्यमवर्गीय परिवारलाई न्यून शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त क्याम्पसमा हाल सात सय छात्रा अध्ययनरत रहेको सो विद्यालयका प्राध्यापक हरिहर घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्