प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिने गरी राष्ट्रपतिमा साथ खोज्दै कांग्रेस

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ण कार्यकाल स्वीकार्ने संकेत दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने बताए । संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको उनको भनाइ थियो । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भए पनि राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधान रक्षाको पक्षधर पार्टीहरू एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न आग्रह गरे । 

राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख रहेको उनको भनाइ छ ।

उनले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको बताए ।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिनुपर्ने बताए । 

प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलाप काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताए ।

प्रवक्ता महतले सबैभन्दा ठुलो दल बनेर सत्ताबाहिर बस्नु कांग्रेसका लागि बिडम्वनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको उल्लेख गरे ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्