स्वदेशी उत्पादनहरूको बृहत् प्रदर्शनी [तस्बिरहरू]

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डप परिसरमा जारी छ ।

प्रदर्शनमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीको खानाका परिकार तथा स्थानीय मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ ।

प्रदर्शनीमा हातबाट बनाइएका विभिन्न चित्र र सजावटका सामानहरू राखिएको छ । जसमा जनकपुरकी मिथिलादेवीले मिथिला सभ्यातासँग जोडिएका आर्ट पनि छन् । 

मिथिलालाई चिनाउने मिथिला आर्ट पछिल्लो समय लोप हँुदै गएको उनले बताइन् । उनी भन्छिन्, ‘विगत केही वर्षदेखि मिथिला आर्टप्रति मानिसहरूको रुचि घट्दै गएको छ । हातले बनाउछौँ, समय लगाएर पेन्ट गर्छौँ । तर, पनि मानिसहरूको नजर आर्टिफिसियल चिजमै जाने गर्छ ।’

pradarsani (4)1676619466.jpg

त्यस्तै प्रदर्शनीमा काठमाडौँको तारकेश्वरमा रहेको अपांग सेवा केन्द्रका अपांगता भएका व्यक्तिहरूले हातले बनाएका विभिन्न खेलौना र सजावटका सामानहरू राखिएको छ ।

केन्द्रलाई केही सहयोग पनि पुगोस् र यत्तिकै बस्नु भन्दा केही गरौँ भन्ने सोचबाट सबै मिलेर काम गर्ने गरेको केन्द्रका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताए । 

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको हो ।

राजधानीको भृकुटीमण्डपमा जारी १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताहरूको आकर्षण देखिएको छ ।

फागुन २ बाट सञ्चालन भएको प्रदर्शनी फागुन ६ गतेसम्म चल्ने छ ।

pradarsani (2)1676619465.jpg

प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौको लड्डु, फापरको मम, मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरूले निकै मन पराएको महासंघका प्रमुख प्रशासकीय अधिकृत नवराज खत्रीले बताए ।

यसैगरी राउटे समुदायले बनाएका काठका सामग्रीहरू, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृंगारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायत सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको छ ।

pradarsani (5)1676619466.jpg

मुलुकभरका झन्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ’ र ‘मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ छ ।

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको महासंघले जनाएको छ ।

सरकारले यस्ता अर्गानिक उत्पादनबारे आमनागरिकलाई सचेतना गराउने र सहज रूपमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउने र बिक्री वितरणलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरूको छुट्टै पेभिलियनमार्फत प्रदर्शनीको व्यवस्था गरिएको छ ।

pradarsani (1)1676619466.jpg

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहको छ ।

प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था गरिएको छ भने २ लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले बताएका छन्  ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्