असुरक्षित ग्यास सिलिन्डर

कतै तपाईंको भान्सामा ‘बम’ त छैन ?

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ– तपाईं हामी सबै उपभोक्ता हौँ । हरेक दिन हामीले चुलो बालेर खाना पकाउँछौँ ।

कतिपयका घरमा विद्युतीय चुलो भए पनि अधिकांश घरमा ग्यास सिलिन्डर नै प्रयोग हुन्छ । गाउँ–गाउँमा पनि दाउरे चुलो विस्थापित गर्दै ग्यास चुलोले आधिपत्य जमाइसकेको छ । 

विशेष गरेर दैनिक खाना पकाउन प्रयोग हुने ग्यास चुलोको प्रयोगमा विशेष सावधानी र होसियारी अपनाउनुपर्छ । 

उपभोक्ता आफैँले पनि ग्यास सिलिन्डर, चुलो र त्यसको प्रयोगसम्बन्धी जानकारी राख्नुपर्ने हुन्छ ।

तपाईं हाम्रो सानो असावधानी र सामान्य गल्तीले जीवनमा ठुलो क्षति पुगिरहेको हुन्छ । अर्थात्, सामान्य कमजोरीले ग्यास विस्फोट हुने र आगलागीजस्ता भयानक दुर्घटना भइरहेका हुन्छन् ।

ग्यास पड्केर र आगलागीजस्ता घटनाबाट बर्सेनि मानवीय क्षति हुुनुका साथै अन्य भौतिक संरचनामा समेत क्षति हुने गरेका समाचार पढन्/सुन्न पाइन्छ । 

सर्वसाधारण उपभोक्ता मात्र होइन, उच्च पदस्थ व्यक्ति पनि यस्ता दुर्घटनाका सिकार बनेको पछिल्लो उदाहरण हो, बुधबार नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको घरमा भएको ग्यास सिलिन्डर विस्फोट । 

बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउने एलपी ग्यास सिलिन्डर पड्किँदा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भए ।

घाइते भएकी उनकी आमाको भने मृत्यु भइसकेको छ भने चन्द्र भण्डारीको नेपालमा उपचार सम्भव नहुने भएपछि भारत लगेर उपचार गरिने भएको छ । 

ग्यास सिलिन्डर विस्फोटबाट विगतमा पनि यस्तै घटना नभएका होइनन् । तर, घटना हुन्छ, त्यत्तिकै सेलाउँदै जान्छ ।

सरकारले पनि ग्यास चुलो प्रयोगसम्बन्धी पर्याप्त जनचेतनामूलक कार्यक्रम गर्न सकेको छैन ।

एलपी ग्यास उद्योग र बिक्री केन्द्रमा सरकारले वर्षमा १ पटक झारा टार्ने गरी अनुगमन गर्छ । तर, निरन्तर अनुगमन, नियमन र उपभोक्तामा व्यापक चेतना नफैलाउँदा यस्ता घटना बढिरहेका छन् ।

आमउपभोक्ताले पनि ग्यास सिलिन्डरको उचित प्रयोग र सावधानी अपनाउन जरुरी छ । ग्यास सिलिन्डरको प्रयोग सुरक्षित तरिकाले कसरी गर्ने, कसरी चलाउने, कस्तो ग्यास सिलिन्डर किन्नेजस्ता कुरामा उपभोक्ता सचेत हुनुपर्छ ।

सिलिन्डरको सुरक्षित प्रयोगका लागि निम्न उपाय अपनाउन सकिन्छ–

ग्यास सिलिन्डर र चुलोको दुरी टाढा राख्ने ।

लाइटर, सलाई, बमजस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थ चुलो नजिक र किचेनमा नराख्ने ।

दाउराजन्य आगो बाल्ने चुलो र ग्यास सिलिन्डर टाढाको दुरीमा राख्ने ।

खाना पकाइसकेपछि राम्रोसँग ग्यास बन्द गर्ने ।

खाना पकाउने ‘किचन’मा धूमपान कहिल्यै नगर्ने ।

सकभर ग्यास जोडिएको चुलो ग्राउन्ड फ्लोरमा राख्ने

ग्यासको पाइप पनि समय–समयमा सफा गर्ने, बदल्ने ।

माथि उल्लेखित उपायबाहेक ग्यास सिलिन्डर किन्दा कुन ब्रान्ड किन्ने, त्यसमा अन्तिम प्रयोग मिति कहिलेसम्म छ, हेर्नुपर्छ ।

एक्सपायर भएको सिलिन्डरबाट पनि दुर्घटना हुने जोखिम हुन्छ । सिलिन्डरको स्टेयरिङ पट्टिको भागमा स्पष्ट रूपमा उपयोग गर्न सकिने मिति लेखिएको हुन्छ । जस्तैः ए २५ लेखिएको छ भने उक्त ग्यास सन् २०२५ को मार्चसम्म प्रयोग गर्न मिल्छ ।

तर, ए, बी, सी र डीसँगै २०२२ लेखिएको छ भने त्यस्ता ग्यास किन्नुहुँदैन । किनकि, अहिले सन् २०२३ फेब्रुअरी चलिरहेको छ । यहाँ ए, बी, सी र डीले वर्षभरिको अंग्रेजी महिनाका त्रैमास इंगित गर्छ भने पछिल्लो २३, २४, २५ जस्ता अंकले वर्ष जनाउँछ ।

उपभोक्ताले पनि कुच्चिएको र पुरानो सिलिन्डर सकभर खरिद गर्नुहुँदैन । ग्यास सिलिन्डरको आयु अधिकतम २० वर्षको हुन्छ । त्यसपछि ग्यास सिलिन्डर स्वतः डिस्पोज गर्नुपर्ने विभागले जनाएको छ । 

विभागले ग्यास सिलिन्डर सुरुमा परीक्षण गर्छ । १० वर्षमा रि–टेस्ट गरिसकेपछि पर्फमेन्स राम्रो छ भने बजारमा पठाउँछ । अर्थात्, ग्यास उद्योगले बजारमा पठाउने गर्छ । 

विभागकी प्रवक्ता ज्योति जोशी भट्ट ग्यास सिलिन्डरको सुरक्षित प्रयोगका बारेमा उपभोक्तामा चेतनामूलक कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता रहेको बताउँछिन् । 

विभागले पनि पर्याप्त मात्रामा सचेतना र उपभोक्ता जागरणका कार्यक्रम अघि बढाउने तयारी गरेको उनको भनाइ छ । 

विभागले सामान्य रूपमा मात्र उपभोक्ता सचेतनाका कार्यक्रम गरे पनि स्थानीय सरकारले त्यस्ता कार्यक्रम अघि बढाइरहेको उनी बताउँछिन् ।

हाल नेपालमा गुणस्तर चिह्न प्राप्त (एनएस) लिएका ४९ वटा ग्यास उद्योग छन् । जुन, नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति प्राप्त हुन् । एनएस नलिई सञ्चालन भएका ग्यास उद्योग कति छन्, सरकारसँग पनि तथ्यांक छैन ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्