फुकोट कर्णाली जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा

बुधबार, फागुन ३, २०७९

मान्म– फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । 

गत वर्षदेखि थालिएको सुरुङ निर्माण काम अन्तिम चरणमा पुगेको हो । 

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ निर्माण हुने चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना २०७३ सालमा निर्माण गरी सक्ने लक्ष्य राखेको छ ।

फुकोट कर्णाली हाइड्रोका लागि पनि दुवैतर्फ पाँच सय २० मिटर सुरुङ खन्नुपर्नेमा चार सय ८० मिटर खनी सकिएको अब ४० मिटर मात्र परीक्षण सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख हीरावान वाइबाले बताए । 

‘जलविद्युत् आयोजनाका लागि सुरुङ निर्माण गर्नुअघि, त्यसको सम्भाव्यता अध्ययनस्वरुप परीक्षण सुरुङ खन्ने गरिन्छ’, उनले भने, ‘सुरुङ बनाउने पहाडभित्र त्यसका लागि उपयुक्त छ वा छैन भनेर परीक्षणका लागि सुरुङ खन्ने गरिन्छ ।’
 
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १२ किलोमिटर सुरुङमार्फत भौतेगडामा पानी खसाएर पावर हाउस निर्माण हुने फुकोट कर्णाली जलविद्युत् आयोजनाले जनाएको छ । 

परीक्षण सुरुङ निर्माण गरिसकिएपछि आयोजना सुरुआत गर्दाका तथ्याङ्क र अहिले फेला परेको अवस्थाका विषयमा पुनः परीक्षण हुने आयोजना प्रमुख वाइबाले जानकारी दिए ।

‘रक मेकानिकल टेस्ट पनि गरिन्छ ।’ उनले भने, ‘अहिलेसम्म खनिएको सुरुङ हेर्दा चट्टानी भाग निकै राम्रो फेला परेको छ । जमिनभित्र पावर हाउस निर्माण गरिने भएकाले त्यसका लागि पनि उपयुक्त हुने अनुमान गरिएको छ ।’ 

आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरिएको आयोजनाका प्रमुख वाइबाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  २०:४४
प्रतिक्रिया दिनुहोस्