देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस् : प्रशासनमन्त्री मोदी

बुधबार, फागुन ३, २०७९

पाटन– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले यो देश बनाउने जिम्मा मेरो पनि हो भन्ने सोचेर काम गर्न निर्देशन दिएका छन् । 

आज ललितपुरमा निजामती सेवामा नवप्रवेशी शाखा अधिकृतहरूको ३६औँ आधारभूत प्रशासन प्रशिक्षण शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री मोदीले आफ्नो आमा, बुबा, गुरु, समुदाय र समाजलाई सम्झेर देशको शिर उँचो बनाउने गरी जिम्मेवारीबोध गरेर काम गर्न निर्देशन दिएका हुन् । 

‘देशमा बेथिति छ, यसको अन्त्य गर्नुछ, यो देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस्, कुनै राजनीतिप्रति आस्था होला, तर देश र जनताको सेवा गर्ने मिसन बनाउनुस्’, मन्त्री मोदीले भने, ‘गलत नियतले सेवा प्रवाहमा नलाग्नुस्, लज्जित हुनुपर्ने पनि हुनसक्छ । अब्बल बन्नुस्, कार्य क्षमता वृद्धि गर्नुस् प्रतिभाका आधारमा तपाईंलाई बोलाउने वातावरण बनोस् ।’

मन्त्री मोदीले कर्मचारीलाई समयको परिपालन गरेर काम गर्न, आफ्नो व्यक्तिगत जीवन जिउने अभिलाषा मात्रै नराख्न र सेवालाई प्रयोग गरेर सजिलै पैसा कमाउने अभियानमा मात्रै नलाग्नसमेत आग्रह गरे । 

मुख्य सचिव शङ्करदास वैरागीले नवप्रवेशी शाखा अधिकृतलाई प्रतिस्पर्धाको यात्रा अर्को तरिकाले सुरु भएको ठान्न आग्रह गरे ।

‘निष्पक्षरूपमा प्रतिबद्ध भएर उच्च मनोबलका साथ काम गर्नुस्, तपाईंहरू सरकारको जग हो । तपाईंहरू सरकारको नीति कार्यान्वयन गर्ने महत्त्वपूर्ण औजार हुनुहुन्छ’, मुख्यसचिव वैरागीले भने, ‘प्रविधिमैत्री सेवा प्रदान गर्ने सरकारको लक्ष्य छ । यसका लागि तत्पर रहनुस्, कुशल प्रशासक र व्यवस्थापक हुने प्रतिज्ञा गर्नुहोस् । हामी पनि तपाईंहरूको राम्रोका लागि सोचिरहेका हुन्छौँ, तपाईं पनि देश र जनताका लागि सोच्नुस् ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निजामती सेवा असाध्यै उच्च गरिमामय सेवा भएको बताउँदै राष्ट्रिय र जनताको अपेक्षालाई केन्द्रविन्दुमा राखेर योगदान दिने भूमिका निर्वाह गर्न आग्रह गरे । ‘तपाईंलाई यस सेवा प्रवेशले समग्र देश विकासको अवसर प्रदान गरेको छ ।

आरोपबाट मुक्त रहेर काम गर्दै स्थापित हुनुहोला’, उनले भने ।

 सचिव पुष्करले भने, ‘कार्यसम्पादन मूल्याङ्कनमा अब्बल हुनुहोला । असल काम गरेर कीर्तिमान कायम गर्ने कर्मचारी बन्नुस् ।’ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले तालिमले क्षमता अभिवृृद्धिका साथै यसलार्ई ज्ञानमा परिवर्तन गराउन अभ्यस्त बनाउने बताए ।

उनले नवप्रवेशी शाखा अधिकृतलाई सिक्ने विषयलाई प्राथमिकतामा राखेर तालिममा सहभागी हुन आग्रह गरे ।

विभिन्न सेवामा प्रतिस्पर्धा परीक्षामा सफल भई शाखा अधिकृत तहमा प्रवेश गरेका दुई सय ३९ जना शाखा अधिकृतको तालिम आजदेखि सुरु भएको हो । तालिम आजदेखि छ महिनासम्म चल्ने छ ।

व्यवस्थापकीय, सुशासन, विकास, नवप्रवर्तन, निर्णय क्षमता र सञ्चार गरी छवटा अवधारणामा आधारित रहेर नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तय गरेको पाठ्यक्रमको आधारमा प्रशिक्षण हुने कार्यकारी निर्देशक डा खनालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्