सम्पत्ति शुद्धीकरण ऐन संशाेधन विधेयक संसद्मा टेबल

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसद्मा पेस गरेको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरे । 

विधेयक पेस गर्दै मन्त्री प्रधानले बैंकिङ प्रविधि र व्यवसायको विश्वव्यापीकरणसँगै आर्थिक अपराधसमेत बढ्दै गएको, एक देशमा बसी अर्को देशमा अपराध गर्न सक्ने भएको, नेपालबाट विभिन्न तरिकाले पुँजी पलायन गराउने सम्भावना बढेको बताए । 

यस्तै, मन्त्री प्रधानले विप्रेषणलाई हुन्डीको माध्यमबाट विदेशमा नै रोक्ने, राजस्व छल्ने जस्ता आर्थिक अपराध गर्ने अपराधिक आर्जनको विदेशमा नै भुक्तानी दिने लिने कार्यका विरुद्ध कारबाही चलाउन पर्याप्त कानुनी व्यवस्था गर्न आवश्यक भएको बताए ।

त्यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकार भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्