सत्ता समीकरण भत्काउन षड्यन्त्र चलिरहेको छ : केपी ओली

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण भत्काउन देशभित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका छन् । 

एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई मंगलबार काठमाडौँमा सम्बोधन गर्दै जुनसुकै बेला वर्तमान सत्ता समीकरण भत्किन सक्ने बताएका हुन् । 

‘५ दलीय गठबन्धन तोकेर सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । हाम्रा साथीहरू खुसी हुनुभएको छ । खुसी हुनु पनि पर्छ । कथंकदाचित यो बनावट फेरियो भने ?’, ओलीले भने ।  

‘हामीसँग बहुमत छैन । संसद्मा बहुमतभन्दा धेरै तलको सिट हामीसँग छ । भित्रका र बाहिरका अनेक शक्ति यो देशलाई बर्बाद पार्न क्रियाशील छन्’, ओलीले भने, ‘बैंकमा डकैती गर्नुपर्‍यो भने पहिले त्यहाँको पालेलाई प्रहार गर्छन् । त्यस्तै प्रहार नहोला भन्न सकिन्न । अनेक षड्यन्त्र चलिरहेको छ ।’ 

गलत शक्तिहरूले एकछिन पराजित गरे पनि सही कुरा सधैँ पराजित हुन नसक्ने ओलीले बताए । एमालेलाई जालझेल गरेर केही समय पराजित गरे पनि सधैँ पराजित गर्न नसक्ने ओलीको भनाइ थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार