नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुर र प्रहरीबिच झडप, स्थिति तनाबग्रस्त

सोमबार, फागुन १, २०७९

काठमाडौँ– यातायात मजदुरहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा ट्राफिक नियमबिरुद्ध सवारीसाधन तेर्साएर  सडक अवरुद्ध गरेका छन् । 

५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमबिरुद्ध यातायात मजदुरहरूले सोमबार नयाँ बषपार्क क्षेत्रको सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडपसमेत भएको छ । प्रहरीको २ वटा गाडीमा प्रदर्शनकारीले आगजनी गरेका छन् । स्थितिलाई सामान्य बनाई यातायात सुचारु गर्न  यतिबेला नेपाल प्रहरीले थप प्रहरी परिचालन गरिएको जनाएको छ ।

balau-strike-bus-worker1676291296.jpg

यातायात मजदुरहरुले टायर बाल्दै चक्काजामसमेत गरेका छन् ।

सडकको बीचमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।

यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन् । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।

सार्वजनिक सवारी साधन सडकमा तेर्स्याइएपछि यात्रुहरू हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका छन् ।


 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्