नेभिगेशन
अर्थ विविध

प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा अध्ययनसँगै च्याउ खेती

भजनी- पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयमा अध्ययनरत छिन् ।  उनी अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैँ व्यवस्थापन गर्दै आएकी छन् । 

कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उनीलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन ।

'भाडाको बसाइँ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने, च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ,' विपनाले भनिन् ।  

समूहमा जोडिएका अछाममा रमेश साउँद मंगलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिन्छन् । उसो त उनीहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाएका छन् । उनीहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पु¥याउँछन् । उनीसँगै १-२ जना अन्य साथीहरू पनि सँगै हुन्छन् ।

बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उनीहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउ खेतीको बारेमा बुझाउन पनि । 

प्रतिकेजी १२० मा च्याउ बिक्री हुने गरेको उनी बताउँछन् । 'बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा २ दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ, आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं भने बाँकी बराबर भाग लगाउँछौँ,' उनले भने । 

प्रतिव्यक्ति ५ हजार जम्मा गरेर कलेजभित्रै उनीहरुले च्याउ उत्पादन सुरु गरेका हुन । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन । बाँकी रहेको जमिनमा तरकारीसमेत विद्यार्थीले फलाएका छन् ।

आफूहरुको क्षेत्र पनि कृषि भएकाले सिजनअनुसार आम्दानी राम्रो हुने देखेपछि सामूहिकरुपमा काम थालिएको कुवेर जैशी बताउँछन् । '८ जनाको समूह बनाएर ४० हजारबाट च्याउ खेती सुरु गर्यौं ।

त्यसको परिणाम राम्रै भएको छ । एकातिर सिकाइ पनि भयो भने अर्कोतिर आम्दानी पनि, उत्पादन भएको पहिलो लटको च्याउबाट हाम्रो लगानी उठेको छ । अहिलेसम्म ३ क्विन्टल च्याउ बिक्री गरेका  छौँ । अझै त्यहीँ मात्रामा उत्पादन हुने आशा छ,' उनले भने । 

उनीहरुले च्याउ खेतीसँगै सिजनअनुसार अन्य तरकारी खेती गर्ने सोचसमेत बनाएका छन्। बिहानको समयमा कलेजमा हाजिर हुने बिद्यार्थी समूह फुर्सदको समयमा त्यहीँ बारीमा व्यस्त हुनेगरेका छन्  । 

फुर्सदको समयको सदुपयोगले सिकाइसँगै आम्दानी हुन थालेपछि अन्य विद्यार्थी पनि समूहमा जोडिन चाहेको अर्जुन सिग्देल बताउँछन्। 

'हामीले गरेको कामबाट हाम्रो समूह मात्रै सन्तुष्ट छैन । अन्य कक्षाका विद्यार्थीलाई सिक्ने अवसरसमेत मिलेको छ, कृषिलाई आधुनिकता र व्यावसायिक कसरी बनाउने, कस्तो माटोमा के लगाउँदा राम्रो उत्पादन हुन्छ त्यसको परीक्षण गरेर कृषि गर्दै आएका छौँ,' उनले भने । 

यसभन्दा पहिले उनीहरुले फूल खेतीसमेत गरेका थिए। फूल खेतीबाट ५० हजार आम्दानी गरेको आशिष धामीले बताए। यस वर्ष फूल खेतीलाई बढाउने सोचमा विद्यार्थी समूह छ ।

उनले बजारमा फूलको मागलाई पूरा गर्न नसकिएको बताउँदै पाठ्यक्रमको अध्ययनभन्दा यस्तै कार्यक्रमबाट बढी सिकाइ हुने गरेको बताए । 

'फूल खेतीबाट पनि राम्रो उत्पादन गर्न सफल भएका थियौं । त्यो फूल खेतीले पनि हामीलाई थप कृषिमा लाग्न ऊर्जा दिएको हो, आज राम्रो हुँदै गएको छ । अध्ययन सकिएपछि पनि कृषिमै काम गर्नुपर्ने हुँदा समूहलाई निरन्तरता दिने गरी काम गर्ने सोच पनि छ,' उनले भने ।  

कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी टीकापुर बाहिरका छन् । सबै भाडामा कोठा लिएर बसेका छन् । घरबाट पठाएको पैसाले खर्च धान्न नसकेपछि उनीहरु कृषिमा आकर्षित हुँदै गएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

तोलामा एक हजार चार सयले घट्यो सुन