शशांकको बोलीपछि मिश्रको टिप्पणी– हिन्दु राष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना पनि हो

आइतबार, माघ २९, २०७९

काठमाडौँ– कांग्रेस नेता डा शशांक कोइरालाले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने बताएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको हकमा हिन्दु राष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना पनि भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा मिश्रले राष्ट्रपतिको कारगेट फोटोमा जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै कांग्रेस नेता कोइरालालाई यस्तो टिप्पणी गरेका हुन् ।

शनिबार कांग्रेस नेता कोइरालाले नेपाललाई जनमत संग्रहबाट हिन्दु राष्ट्र कायम गर्नुपर्ने धारणा राखेका थिए । उक्त भनाइबारे आफ्नो टिप्पणी राख्दै मिश्रले नेपालको हकमा हिन्दु राष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना भएको बताएका हुन् ।

‘कांग्रेस नेता शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्‍यो भनेछन् । पछिल्ला महिनाहरूमा नेपाली कांग्रेसका धेरै वरिष्ठ नेताहरूमा राजा ज्ञानेन्द्रसँगको क्षणिक रिसले पार्टीको ‘प्रचण्डीकरण’ गर्दा पार्टीलाई निरन्तर घाटा भएको अनुभूति प्रष्ट महसुस गर्न सकिन्छ,’ मिश्रले लेखेका छन्, ‘कोही सार्वजनिक रूपमा भन्छन्, कोही भन्दैनन् । फरक त्यत्ति हो । कोही शशांकजी जस्तो हिन्दु राष्ट्रको मात्र कुरा गर्छन् । तर नेपालको हकमा हिन्दु राष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना पनि हो भन्ने बुझ्न जरूरी छ ।’ 

मिश्रले यो विषयमा एमालेभित्र पनि धेरैको दृष्टिकोण बदलिँदै गएको दाबी गर्दै राजसंस्थाप्रति एमालेको दृष्टिकोण बदलिएको समेत उल्लेख गरेका छन् ।

‘एमालेभित्र पनि धेरैको दृष्टिकोण बदलिँदै गएको छ । तलको फोटो एमाले आबद्ध नेताले नै मलाई पठाइदिनुभएको हो । एकदमै राम्रोसँग माहोल बनेर आएको छ,’ मिश्रले लेखेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्