लामो समयपछि ग्रीसका विदेशमन्त्री टर्की पुगे

आइतबार, माघ २९, २०७९

एथेन्स– गत सोमबारको भूकम्पबाट क्षतविक्षत भएको टर्की सरकार तथा त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउन ग्रीसका विदेशमन्त्री निकोस डेन्डिया टर्की भ्रमणमा गएका छन् । 

हेलिकप्टरबाट टर्कीको भूमिमा ओर्लदाँ उनलाई टर्कीका उनका समकक्षी  मेभलुत काभुसोग्लुले स्वागत गरे । 

लामो समयदेखि दुवै देशबीच प्रतिद्वन्द्वता रहे पनि प्राकृतिक विपत्तिको यो विषम परिस्थितिमा सहयोग गर्न ग्रीसका विदेशमन्त्री टर्की गएका हुन् । भूकम्प प्रभावित क्षेत्रको पनि उनले भ्रमण गर्ने कार्यक्रम छ । 

ग्रीसका विदेशमन्त्री डेन्डिया भूकम्पपछि टर्कीको भ्रमण गर्ने युरोपेली मुलुकको पहिलो मन्त्री हुन् ।

ग्रीसका उद्धारकर्मीले खोज तथा उद्धारमा सहयोग गरिरहेका अन्टाक्याका केही स्थानमा दुवै  देशका मन्त्री पुगेका छन् । ग्रीसले धेरै राहत सामग्री टर्कीलाई उपलव्ध गराएको छ ।

हालसम्म उसले ८० टन औषधि तथा प्राथमिक उपचारका सामग्री प्रदान गरिसकेको छ । 

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी  २९ हजार एक सय १७ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

टर्कीमा २४ हजार छ सय १७ जनाको ज्यान गएको छ भने सिरियामा चार हजार पाँच सय जना मारिएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्