टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

शनिबार, माघ २८, २०७९

इस्तानबुल–टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय  ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । 

उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । 

मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।

टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको आज निधन भएको छ ।

भूकम्प भएको  एकसय २९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । भूकम्प प्रभावित नुरुदाग शहरमा उक्त चमत्कार भएको हो । 

पाँच जनाको जीवन जोगाउन पाएकामा उद्धारकर्मीले खुशी हुँदै भगवान्को प्रार्थना गर्दै ‘ईश्वर महान् हुनुहुन्छ’ भनेका थिए । कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । आज नौ जनालाई जीवितै उद्धार गरिएको छ ।  

मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् ।

टर्कीको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीले गरेका प्रयासको सराहना गरेका छन् । 

उनले सिरियामा पनि सहायता सामग्री परिचान गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्नेभन्नेमा स्पष्ट भएको छैन ।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्