खोटाङको खार्पा अस्पताल निर्माण अधुरै 

शनिबार, माघ २८, २०७९

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित १० शय्याको अस्पताल अधुरै छ । 

अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो । 

प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार खार्पामा अस्पताल निर्माणका लागि सरकारले गाउँपालिकालाई नक्सा पठाएको थियो ।

सात करोड ५७ लाख ५१ हजार रुपैयाँको लागतमा ३७ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा महादेव खिम्ती–अन्जान रुजन जेभीले निर्माणको ठेक्का लिएको थियो । 

विसं २०७७ मङ्सिर १५ मा स्वास्थ्य चौकीलाई  दश शय्याको अस्पतालमा रुपान्तरण गर्ने गरी तत्कालीन सांसद विशाल भट्टराई र तत्कालीन गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भवनको शिलान्यास गरेका थिए ।

भवन निर्माणको करिब २० प्रतिशत काम सकिएपछि मापदण्डअनुसार डिपिआर नभएको पाइएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव श्रेष्ठले बताए ।

९० लाख रुपैयाँ भुक्तानी निर्माण कम्पनीले लिइसकेको छ । गत जेठदेखि भवन निर्माण ठप्प छ । नयाँ डिपिआर स्वीकृत हुने बित्तिकै काम अघि बढ्ने श्रेष्ठको भनाइ छ । 

रावाबेँसीसँगै जिल्लाका चार स्थानीय तहमा २०७७ मङ्सिरमा  एकसाथ अस्पताल भवन शिलान्यास गरिएको थियो । अन्य स्थानीय तहमा पनि भवन निर्माणाधीन अवस्थामा छन् । 

साकेला र केपिलासगढी गाउँपालिकाले भने स्थानीयस्तरमा अस्पताल निर्माण गरिरहेका छन् । दिप्रुङ चुइचुम्मा, खोटेहाङ र बराहपोखरीमा हालसम्म अस्पताल नयाँ निर्माण हुन सकेको छैन । 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्