Nic Ad Nic Ad
Nic Ad Nic Ad

चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आउँदै

शनिबार, माघ २८, २०७९

काठमाडौँ –काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गत वर्ष २२ चैतदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन । आन्तरिक टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकाले सम्बन्धित सरोकारवाला निकायमा पत्राचार गरी छिटै टर्मिनल सञ्चालन सुरु हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

व्यापार सहजीकरणका लागि निर्माण भएको उक्त सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ । 

टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङ/अनलोडिङलगायत सुविधा उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने समितिका कार्यकारी निर्देशक गजुरेलले बताए । 

उनले भने, ‘वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले पनि चोभारको आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरिसकेको छ, अब चाँडै सञ्चालन हुनेछ ।’

यसैगरी आयातकर्ता÷निर्यातकर्तालाई सडक किनारामा सवारीसाधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयातकर्ता एवं निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अुनरोध गरेको छ । 

विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको उक्त चोभार सुक्खा बन्दरगाहको कूल लागत १ अर्ब ५४ करोड रुपैयाँ छ । करिब २६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति रहेको छ ।

बन्दरगाहमा लोड–अनलोड भवन ३, गोदाम घर ३, प्रशासनिक भवन ३, एप्राइजल सेड ३, धर्मकाँटा ३, कन्टेनर यार्ड, विद्युत् सबस्टेसन, बाउन्ड्री लाइट, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन्  । बन्दरगाहको कन्टेनर ¥याडमा ५०० कन्टेनर र ५०० ट्रक राख्न मिल्ने ६५ हजार वर्गमिटर पार्किङ क्षेत्र रहेको छ ।

बन्दरगाह सञ्चालनमा आएसँगै अब नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा योगदान मिल्ने समितिले जनाएको छ । चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने प्रक्रिया करिब १ दशकअघि नै सुरु भएको थियो । नेपाल र विश्व बैंकबीच जेठ २०७० मा चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि वित्तीय सम्झौता भएको थियो । 

त्यसपछि आव २०७०/०७१ को बजेटले चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक जमिनको व्यवस्था गर्न बजेट छुट्याउने घोषणा गरेको थियो । त्यसको करिब ५ वर्षपछि साउन २०७५ सालमा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । 

चोभारमा निर्माण भएको यस बन्दरगाहको शिलान्यास ३ माघ २०७५ मा भएको थियो । स्थानीय अवरोध, कोभिडको प्रभावलगायत कारणले बन्दरगाह निर्माणमा ढिलाइ भएको इन्टरमोडलले जनाएको छ । तेस्रोपटकको म्याद थपपछि गएको असारमा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको बताइएको छ । बन्दरगाह तथा आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै अब आयातकर्ताले आयात गरेर ल्याएका मालवस्तुको भन्सार जाँचपास काठमाडौंमै गर्न सक्ने बताइएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्