डेढ महिनामा ओली–प्रचण्डको १७ पटक ‘वान् अन वान्’ भेट, तर माझिएन मन

शुक्रबार, माघ २७, २०७९

काठमाडौं– मंसिर ४ अघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मिलन यति चाँडै होला भन्ने कल्पनासमेत गर्ने स्थिति थिएन । 

चुनावी सभाहरूमा ओली र प्रचण्डले एक अर्कालाई गरेको गाली सुन्दा लाग्थ्यो– यिनीहरू अब कहिल्यै मिल्न सक्दैनन् । 

धेरैकाे मनमा गढेको यो भाष्य मंसिर १० मै भत्कियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर प्रचण्डलाई चुनाव जितेकामा बधाई दिए । आखिर दुवैले बधाई साटासाट गरे ।

तत्कालीन नेकपा विभाजन भएपछि ओली र प्रचण्डको त्यो दोस्रो टेलिफोन वार्ता थियो । 

कांग्रेस नेतृत्वको गठबन्धनमा रहेर चुनावमा सहभागी हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको मौखिकरुपको भद्र सहमति थियो– चुनावपछिको प्रधानमन्त्री प्रचण्ड । 

प्रचण्ड पनि आफू प्रधानमन्त्री बन्नेमा विश्वस्त थिए । चुनावी नतिजाले पनि माओवादी केन्द्रलाई सरकार निर्माणको निर्णायक भूमिका दिएको थियो । अर्थात, माओवादी केन्द्रले जुन ठुलो दललाई सघाउँछ उही सरकारमा रहने भयो । 

का‌ग्रेससँग सरकार गठनका लागि प्रचण्डले स‌ंवाद गरिरहेकै समयमा ओली र प्रचण्डबीचमा केही आकस्मिक भेट भएकाे थियाे । 

सा‌ंसदहरूकाे शपथपछिकाे चियापानमा ओली र प्रचण्ड सँगै देखिए । 

oli prachanda1675939076.jpg

चुनावी नतिजापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० को अन्तिम समयसीमा दिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरिन् । प्रधानमन्त्रीको दाबी गर्ने समयमा भने कांग्रेस सभापति देउवाले बोली फेरे । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसकै हुने दाबी गरे ।

यो दाबीबाट देउवा टसमस नभएपछि प्रचण्ड बालुवाटारबाट हुत्तिएर बालकोट पुगे । 

Prachanda_balkot1676040024.jpg

५ वर्षपछि गत पुस १० मा बालकोटस्थित केपी ओली निवासको आँगन टेकेका प्रचण्ड त्यसयता लगातार बालकोट धाइरहेका छन् । 

उनी बालकोट र केपी ओली बालुवाटार धाइरहेको देख्दा लाग्छ– पुराना मित्रहरूको मायावी भेटवार्ता जारी छ । तर, राजनीतिको रापतापमा भइरहेका यी भेटमा उति मित्रता झल्किरहेको छैन ।

पुस १० को ओली–प्रचण्ड भेटले प्रचण्डलाई तेस्रो पटक सिंहदरबारको बागडोर सम्हाल्ने अवसर जुरायो । तर, त्यसलाई सम्हाल्न भने उनी बालकोट धाइरहनुपरेको छ । 

प्रचण्ड प्रधानमन्त्री भएयता ओली र प्रचण्डबीच १७ पटक वान् अन वान् भेटवार्ता भएको छ ।  

यस अवधिमा ओली एक पटक प्रचण्डको निजी निवास खुमलटार पुगे भने प्रचण्डचाहिँ ३ पटक ओली निवास बालकोट पुगेका छन् ।

सत्तारूढ दलहरूको बैठकमा भएको भेटसमेत गणना गर्दा ओली र प्रचण्डबीच पुस १० यता मात्रै २७ पटक भेटवार्ता भएको छ ।  

पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पुस १३ गते केपी ओली प्रधानमन्त्रीलाई भेट्न खुमलटारस्थित प्रचण्डको निजी निवासमा पुगेका थिए । 

oli-khumaltar1676040061.jpg

पुसको न्यानो घाममा सुन्तला खुवाएर प्रचण्डले ओलीलाई स्वागत गरेका थिए । उक्त भेटमा २ नेताले सरकारको न्यूनतम साझा कार्यक्रम र उच्चस्तरीय संयन्त्र बनाउनेबारे छलफल गरेका थिए ।

२०७७ पुस ४ मा ओली प्रचण्ड निवास गएर फर्किएपछि गत पुसमा मात्रै उनले खुमलटार टेकेका हुन् । अर्थात ठ्याक्कै २ वर्षपछि ओली खुमलटार गएका थिए । त्यसदिन ओली र प्रचण्डबीच करिब २ घन्टा संवाद भएको थियो । 

त्यसपछि पुस १५ मा प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बिहानै बालुवाटार पुगे । उक्त भेटमा सत्ता साझेदार दलहरूको बैठक राख्ने र उच्चस्तरीय संयन्त्रको संयोजक तोक्ने बारेमा २ नेताले छलफल गरेका थिए ।

त्यसको ६ दिनपछि अर्थात् पुस २१ मा बालुवाटारमै प्रचण्ड र ओलीबीच भेटवार्ता भयो । उक्त भेटमा प्रधानमन्त्रीले संसद्बाट लिने विश्वासको मत र प्रदेश सरकार बनाउने विषयमा २ नेताले छलफल गरेका थिए ।

पुस २६ मा प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिए । त्यसदिन प्रधानमन्त्रीलाई कांग्रेसले पनि विश्वासको मत दिने निर्णय गर्याे र मत पनि दियो । त्यसपछि भने, ओली र प्रचण्डका बीचमा संशय सुरु भयो । 

पुस २७ मा भने प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट नै गए । गोरखाको १ कार्यक्रममा सम्बोधन गरेर फर्किएका प्रचण्ड बालुवाटार नगई सीधै बालकोट गएका थिए ।

कांग्रेसले विश्वासको मत दिएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न ओलीले प्रचण्डलाई बालकोट बोलाएका थिए ।

संसद्बाट कांग्रेसको समेत विश्वासको मत पाइसकेपछिको राजनीतिक परिस्थिति बुझ्न ओलीले प्रचण्डलाई बालकोटमै बोलाएको ओलीको सचिवालयले बताएको थियो ।  

पुस ३० र माघ १ मा पनि सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा ओली र प्रचण्डका बीचमा छलफल भएको थियो । बालुवाटारमै उनीहरूका बीच भेटवार्ता भएको थियो । 

माघ २ को दिउँसो भने ओलीलाई भेट्न प्रचण्ड बालकोट नै गएका थिए । त्यसदिन २ नेताबीच करिब ५ घन्टा छलफल भएको थियो । 

त्यही बैठकपछि सरकार विस्तारको टुंगो लागेको थियो ।  

पुस ३ को बिहान सत्तारूढ दलहरूको बैठक बसेर सरकार विस्तारको निर्णय गरेको थियो । 

माघ १० र १२ गते केपी ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटमा २ नेताले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको थियो । 

माघ १५ सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष ओली पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

prachanda and kp oli16747146341675755034.jpg

माघ १८ गते सत्ता गठबन्धनमा खटपट सुरु भएको चर्चासँगै प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन आग्रह गर्दै त्यसदिन ओली बालुवाटार पुगेका थिए । 

माघ १३ गते सर्वोच्च अदालतको फैसलापछि लामिछानेको सांसद र उपप्रधानमन्त्रीसहित गृहमन्त्री पद गुमेको थियो । 

माघ २१ मा सत्ता गठबन्धनलाई बलियो बनाउन र रास्वपाका विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए ।

त्यसैगरी, माघ २४ मा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच बालुवाटारमा भेट भएवार्ता भएको थियो । उनीहरूबीच रास्वपाले सरकार छाडेपछिको राजनीतिक परिस्थितिको विषयमा छलफल भएको बताइएको थियो । 

माघ २५ मा बालकोटस्थित ओली निवास पुगेका प्रधानमन्त्री प्रचण्ड ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको थियो । त्यससँगै, सुदूरपश्चिम सरकार जोगाउने उपायको बारेमा पनि छलफल भएको थियो । भलै, सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार जोगिन सकेन । 

माघ २६ को दिउँसो ओली र प्रचण्डले सिंहदरबारमा भेट गरेर राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर २७ गते बिहानका लागि सारेका थिए । 

oli-Prachanda1676040226.jpg

२७ गते बिहान राजनीतिक संयन्त्रको बैठक त बस्यो तर, उपलब्धिमूलक भने हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए । 

सरकारमा सहभागी र समर्थन गरेका दलका नेताहरू नै बैठकमा उपस्थित भएनन् । 

जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरू नै उच्चस्तरीय संयन्त्रको बैठकमा गएनन् ।

सरकार सञ्चालन र अन्य राजनीतिक विषयमा ओली र प्रचण्डबीच डेढ महिनामा १७ वटा वान् अन वान् वार्ता भए पनि उनीहरूको मन माझिन सकेको छैन । 

भेटको चुरो राष्ट्रपति निर्वाचन 

पुस १० मा सरकार गठन गर्दा राष्ट्रपति एमालेलाई दिन तयार भएका प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि भने बोली फेरेका छन् । 

अहिले उनी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोजिनुपर्ने भनिरहेका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने प्रचण्डको प्रस्तावमा सहमत छैनन् । 

उता नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने भनिरहेको छ । प्रचण्ड र नेपाली कांग्रेसको एउटै मत भएका कारण एमाले अध्यक्ष ओली भने झस्किएका छन् ।

ओली एमालेले अघि सारेकै उम्मेदवारलाई राष्ट्रपति बनाउन चाहन्छन् । तर, प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत नभएपछि ओली र प्रचण्डबीच लभ–हेट रिलेसनको भेटवार्ता चलिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार