ठगी र अवैध बसाइका कारण रोकियो युकेको मौसमी रोजगारी

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ– बेलायत सरकारले तत्कालका लागि नेपालबाट सिजनल भिसामा कामदार लैजान रोकेको छ ।

नेपालले गत महिना मात्र सिजनल भिसामा कामदार पठाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी लागू गरेको थियो ।

युकेले सिजनल भिसामा श्रमिक लिन रोकेपछि प्रक्रियामा रहेका ५ हजारभन्दा बढी युवा समस्यामा परेका छन् । नेपाली कामदार सिजनल भिसामा लिने युके मुख्य देशभित्र पर्छ । 

बेलायतको अध्यागमन प्रणालीले दक्षिण एसियाली आप्रवासी कामदार सिजनल भिसाका नाममा आर्थिक शोषणमा परेको भन्दै बेलायती फार्महरूले नेपालबाट श्रमिक भर्ना जनवरीदेखि नै रोकेको युकेको फाइनान्सियल टाइम्सले जनाएको छ । 

नेपालबाट अस्थायी भिसामा युकेमा कृषि कामदारहरू ल्याउन इजाजतपत्र प्राप्त सबै ५ भर्ती कम्पनीहरूले सार्वजनिक रूपमा घोषणा गर्दै नेपालीहरूलाई नल्याउने त्यहाँको अध्यागमन प्रणालीले निर्देशन दिएको समाचारमा भनिएको छ ।

अध्यागमनको निर्देशनपछि सिजनल भिसामा नेपालबाट श्रमिक लैजाने पाँचै वटा कम्पनीले यो वर्ष सिजनल भिसामा श्रमिक नलिने घोषणा गरिसकेका छन् । 

नेपालबाट मौसमी रोजगारीमा युके पुगेका नेपालीहरू युरोपका अन्य देश भाग्ने गरेको र नफर्की अवैध रूपमा बस्ने गरेका कारण पनि युकेले मौसमी रोजगारीमा कामदार लिन बन्द गरेको समाचारमा भनिएको छ । 

युके सरकारको वेबसाइटमा उल्लेख गरिएअनुसार मौसमी कामदार भिसा आवेदनका निम्ति २५९ पाउन्ड वा लगभग ४० हजार नेपाली रुपैयाँ खर्च लाग्छ । तर, सिजनल भिसामा जाने कामदारले करिब ७ लाख रुपैयाँ खर्च गर्नुपरेको बताउँदै आएका छन् । 

हाल नेपालबाट युकेसम्मको हवाई भाडा करिब १ लाख ४० हजार रुपैयाँको हाराहारी छ । यो खर्च भिसा आएर मेडिकल गरेपछि कामदारले बेहोर्नुपर्छ । 

बिचौलियाहरूको बिगबिगिको सिकार रोक्न नसक्दा नेपालले पाउने आकर्षक सिजनल भिसाअन्तर्गत अन्य देशको मौसमी रोजगारसमेत प्रभावित भएको रोजगार विज्ञको आरोप छ ।

सिजनल भिसामा युके जाने व्यक्तिसँग विभिन्न कन्सल्टेन्सी र बिचौलियाहरू प्रयोग गर्दै लाखौँ खर्च असुल्ने गरेको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ । 

नेपालका लागि मौसमी कामदार भिसा आवेदन खुला भएदेखि हालसम्म ९३७ जना नेपालीह युके पुगेका छन् । तीमध्ये १२८ जना मात्र महिला रहेको विभागको तथ्यांकमा छ । 

सिजनल भिसामा युके गएकाहरूलाई सम्पर्क गरी त्यहीँबाट बाह्य देशमा समेत पठाउने शर्त राखेर एजेन्टहरूले आर्थिक रूपमा चर्को लागत लिने गरेको सूचना पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए । 

निश्चित समयका लागि मौसमी भिसामा युके गएकाहरूले त्यहाँ गएर केही दिनमै भाग्नुका साथै अन्य देश जानका लागि लाखौैँ खर्चिएको मौखिक उजुरी परेकोे छ । तर, कानुनी कारबाही गर्ने बलियो आधार नभएका कारण दोषीले उन्मुक्ति पाइरहेकको उनको भनाइ छ । 

युकेले नेपालबाट स्वास्थ्य, निर्माण र उद्योगमा कामदार लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल समेत गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा केयर गिभर र नर्स लैजान गत असोजमै श्रम सम्झौता गरिएको छ । 

उक्त सम्झौताअनुसार कामदार पठाउने प्रक्रिया भइरहेको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्